अमेरिकाले फेरि आक्रमण गरे युद्ध हिन्द महासागरसम्म विस्तार हुन सक्ने इरानको चेतावनी

अमेरिकाले फेरि आक्रमण गरे युद्ध हिन्द महासागरसम्म विस्तार हुन सक्ने इरानको चेतावनी

एजेन्सी : इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानी सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सल्लाहकारले अमेरिकाले पुनः आक्रमण गरे इरानले युद्धको भौगोलिक दायरा हिन्द महासागरसम्म विस्तार गर्न सक्ने चेतावनी दिएका छन्।

इरानको 'फार्स' न्युज एजेन्सीद्वारा सार्वजनिक गरिएको एक भिडियोमा सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार याह्या रहिम सफावीले फारसको खाडी र स्ट्रेट अफ हर्मुजबाट सुरु भएको द्वन्द्व लाल सागरसम्म फैलिइसकेको बताउँदै थप युद्ध भए यसको मोर्चा अझ विस्तार भएर हिन्द महासागर र त्योभन्दा पनि अगाडिसम्म पुग्न सक्ने बताएका छन्।

इरानको रिभोलुसनरी गार्डले पनि थप उक्साहट भएमा आफ्ना सैन्य रणनीति र लक्ष्यहरू परिवर्तन गर्न सकिने बताएको थियो।  

इरानी अधिकारीहरूले यसअघि पनि अमेरिकाले पुनः सैन्य कारबाही गरे त्यसको जवाफमा यस क्षेत्रमा रहेका अमेरिकी हित तथा सैन्य संरचनालाई लक्षित गर्न सकिने चेतावनी दिँदै आएका छन्।

हिन्द महासागर किन महत्वपूर्ण ?

हिन्द महासागरले करिब ७ करोड ५ लाख वर्ग किलोमिटर क्षेत्र ओगटेको छ, जुन पृथ्वीको जलसतहको लगभग २० प्रतिशत भाग हो। यसको उत्तरी सीमामा भारत, इरान, पाकिस्तान र बङ्गलादेशसहितका एसियाली मुलुकहरू रहेका छन्। ऊर्जा र व्यावसायिक जहाज सञ्चालनका लागि यो क्षेत्र विश्वकै प्रमुख समुद्री मार्ग मानिन्छ।

यस क्षेत्रका दुई प्रमुख समुद्री मार्गहरूमा अहिले व्यापक दबाब सिर्जना भएको छ।

लाल सागरलाई अदनको खाडीसँग र त्यसपछि हिन्द महासागरसँग जोड्ने बाब अल–मन्देब स्ट्रेट यस क्षेत्रको महत्वपूर्ण समुद्री मार्ग हो। पछिल्लो समय यहाँ भएका आक्रमण तथा बढ्दो सुरक्षा चिन्ताका कारण व्यापारिक जहाजको आवागमन प्रभावित हुँदै आएको छ।

त्यस्तै, फारसको खाडीलाई ओमानको खाडीसँग जोड्ने हर्मुज स्ट्रेटमा पनि तनावका कारण यातायात ठप्पप्राय बनेको छ। रोयटर्सका अनुसार युद्ध अघि हर्मुजबाट दैनिक औसत १२५ वटा व्यापारिक जहाजहरू ओहोरदोहोर गर्ने गरेकोमा हप्ताअघि सातामा ३७ वटा र पछिल्लो सप्ताहान्तमा मात्र १७ वटा कमोडिटी जहाजहरूले मात्र यो जलमार्ग पार गरेका छन्।

बाब अल–मन्देब क्षेत्रमा पनि जहाज आवागमन घटेको छ। हर्मुज र बाब अल–मन्देब दुवै मार्गमा आएको अवरोधले मध्यपूर्वबाट एसिया तथा अन्य क्षेत्रमा हुने ऊर्जा र व्यापारिक वस्तुको ढुवानीमा थप जोखिम बढाएको छ।

असोज ८, २०८३ बिहीबार १६:०४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।