अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण, सीमा क्षेत्रमा तनाव

अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण, सीमा क्षेत्रमा तनाव

काठमाडौं : पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ।

अफगानिस्तानतर्फबाट भएको ड्रोन आक्रमण प्रयासको जवाफमा आफूले ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै प्रत्याक्रमण गरेको पाकिस्तानको दाबी छ।

पाकिस्तानी सञ्चारमन्त्री अताउल्लाह तारारका अनुसार ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग गरिएका स्थानहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। उनले यी आक्रमण ‘सुनियोजित, सटीक र सैन्य लक्ष्यमा मात्रै केन्द्रित’ रहेको बताएका छन्।

उता, अफगानिस्तानको तालिबान सरकारले भने आक्रमणको तीव्र निन्दा गर्दै पाकिस्तानले नागरिक बस्तीलाई निशाना बनाएको आरोप लगाएको छ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसलाई ‘अपराधको पुनरावृत्ति’ भन्दै पाकिस्तानले आफ्नो आन्तरिक संकट र सुरक्षा कमजोरीबाट ध्यान मोड्न यस्तो कदम चालेको टिप्पणी गरेका छन्। उनले यस प्रकारको आक्रमणको ‘उचित जवाफ दिने’ चेतावनीसमेत दिएका छन्।

यसअघि पनि पाकिस्तानी लडाकु विमानले अफगानिस्तानको कुनार र पक्तिका प्रान्तका विभिन्न क्षेत्रमा आक्रमण गरेका थिए। स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार उक्त आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु र चार जना घाइते भएका थिए।

संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोग (युनामा) को प्रतिवेदन अनुसार सीमापार हुने सशस्त्र हिंसाबाट अफगानिस्तानमा ठूलो संख्यामा सर्वसाधारण प्रभावित हुँदै आएका छन्।

सीमापार आक्रमणका कारण हालसम्म दर्जनाैँ महिला तथा बालबालिकासहित सयौँ सर्वसाधारण हताहत भइसकेका छन्। पक्तिया, पक्तिका र कुनार प्रान्त सीमापार हवाई आक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।

पछिल्ला आक्रमणहरूसँगै पाकिस्तान र अफगानिस्तानबीच सीमा तनाव थप चुलिएको छ।

असोज ८, २०८३ बिहीबार ११:१३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।