‘ओपनएआई’ एजेन्टले अस्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गर्‍यो : प्रधानमन्त्री अल्बानिज

‘ओपनएआई’ एजेन्टले अस्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गर्‍यो : प्रधानमन्त्री अल्बानिज

एजेन्सी :​ चर्चित अमेरिकी कम्पनी ‘ओपनएआई’ले विकास गरेको एक एआई एजेन्टले अस्ट्रेलिया सरकारका महत्वपूर्ण वेबसाइट तथा गैर-सार्वजनिक डाटा प्रणालीमा अनधिकृत पहुँच (ह्याक) पुर्याएको हो।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस घटनाको खुलासा गरेका हुन्। कुनै एआई एजेन्ट आफैं अनियन्त्रित भएर सरकारी प्रणालीभित्र प्रवेश गरेको यो विश्वकै पहिलो सार्वजनिक घटना भएको दाबी गरिएको छ।

प्रधानमन्त्री अल्बानिजले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग फोनवार्ता गरी कडा आपत्ति र आक्रोश व्यक्त गरेका छन्।

ओपनएआईका अनुसार गत जुन महिनामा स्वास्थ्यसम्बन्धी तथ्याङ्क खोज्ने क्रममा उक्त एआई मोडलले आफूलाई तोकिएको परिधि नाघेर अनपेक्षित रूपमा अस्ट्रेलिया सरकारका विभिन्न निकायभित्र प्रवेश गरेको थियो।

यस क्रममा एआईले अस्ट्रेलियाको राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली ‘मेडिकेयर’ का गैर-सार्वजनिक विवरणहरूका साथै न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका स्वास्थ्य तथा अनुसन्धान विभागका प्रणालीमा समेत पहुँच बनाएको थियो। कम्पनीले यसलाई एआईको ‘अनपेक्षित गतिविधि’ भनेको छ।

ओपनएआईको लापरबाही : साइबर एजेन्सीलाई छाडेर ‘पब्लिक इमेल’मा जानकारी
घटना जति गम्भीर थियो, ओपनएआईले यसबारे जानकारी दिएको शैलीले अस्ट्रेलिया सरकारलाई झन् आक्रोशित बनाएको छ।

जुन १८ मा  एआई एजेन्टले अस्ट्रेलियाली सरकारी वेबसाइट र गोप्य डाटामा पहुँच बनायो भने दुई महिनापछि मात्र अगस्टमा कम्पनीले आन्तरिक समीक्षाका क्रममा एआईले सीमा नाघेको पत्ता लगाएको थियो।

यति गम्भीर सुरक्षा चुहावटबारे अस्ट्रेलियाको साइबर सुरक्षा निकायलाई सीधै जानकारी दिनुको सट्टा कम्पनीले सरकारी निकाय ‘सर्भिस अस्ट्रेलिया’को सर्वसाधारणले सोधपुछ गर्ने सामान्य इमेलमा सेप्टेम्बर १० मा एउटा पत्र पठायो।

सेप्टेम्बर १५ देखि २३ सम्म सरकारी निकाय हुँदै प्रधानमन्त्रीसम्म कुरा पुग्यो र अन्ततः प्रधानमन्त्री अल्बानिजले न्युयोर्कबाट संसारलाई यसबारे जानकारी दिए।

किन बज्यो विश्वभर खतराको घन्टी?
साइबर सुरक्षाविज्ञहरूले यस घटनालाई अत्यन्त डरलाग्दो संकेतका रूपमा लिएका छन्। कुनै मानिसले ह्याक गर्न निर्देशन नदिँदा पनि एआई एजेन्ट आफैंले सरकारी सुरक्षा पर्खाल नाघेर भित्र पस्नुले प्रविधि मानव नियन्त्रणभन्दा बाहिर जान थालेको पुष्टि गर्छ।

कडा सुरक्षा हुनुपर्ने सरकारी प्रणालीहरूले समेत एआई एजेन्ट भित्र पसेको पत्तो पाउन सकेनन्।

यसअघि अर्को अमेरिकी कम्पनी ‘एन्थ्रोपिक’ को एआईले पनि प्रयोगशालाको नियन्त्रण तोडेर अन्य कम्पनीहरू ह्याक गरेको पाइएको थियो।

स्ट्रेलियाका कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्लेसले देशको अति संवेदनशील राष्ट्रिय सुरक्षा डाटा पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन्।

तर, विज्ञहरूले भने भविष्यमा यस्ता एआई-प्रेरित आक्रमणहरू अझ तीव्र र खतरनाक भएर आउने चेतावनी दिएका छन्। यस घटनापछि तीव्र गतिमा अघि बढिरहेको एआई विकासको गतिलाई सुस्त बनाउन र कडा विश्वव्यापी नियमन गर्न माग चुलिएको छ।

असोज ८, २०८३ बिहीबार ०९:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।