प्रोटोकल तोडेर सी जिनपिङलाई लिन विमानस्थलमै पुगे ट्रम्प, ११ वर्षपछिको भ्रमणमा चार मुद्दामा छलफल हुने

प्रोटोकल तोडेर सी जिनपिङलाई लिन विमानस्थलमै पुगे ट्रम्प, ११ वर्षपछिको भ्रमणमा चार मुद्दामा छलफल हुने

एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षपछि अमेरिका भ्रमणमा पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परम्परागत कूटनीतिक मर्यादा (प्रोटोकल) तोड्दै ‘जोइन्ट बेस एन्ड्रयुज’ विमानस्थलमै पुगेर सी जिनपिङको भव्य स्वागत गरेका छन्।

सामान्यतया अमेरिकी राष्ट्रपति विदेशी राष्ट्रप्रमुखलाई स्वागत गर्न सीधै विमानस्थल पुग्ने चलन हुँदैन। स्वागतका लागि ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र सीसँगै उनकी पत्नी पेङ लियुआन उपस्थित थिए। दुवै नेताहरू रातो कार्पेटमा सँगै हिँड्दै विमानस्थलबाट बाहिरिएका थिए।

ह्वाइट हाउसमा सीको सम्मानमा आज विशेष ‘स्टेट डिनर’ आयोजना गरिएको छ। त्यसलगत्तै दुई शक्तिशाली देशका शीर्ष नेताबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ।

दुई देशबीचको सबैभन्दा ठूलो विवाद व्यापार हो। एकअर्काका सामानमा चर्को कर (ट्यारिफ) लगाएका अमेरिका र चीन अहिले त्यसलाई घटाउने प्रयासमा छन्। करिब ३०-३० अर्ब डलरका वस्तु, ऊर्जा र कृषि उत्पादनमा कर छुट दिनेबारे वार्ता केन्द्रित हुनेछ।

प्रविधिको दुनियाँमा कसको दबदबा रहने भन्ने विषयमा दुई देशबीच तीव्र प्रतिस्पर्धा छ। अमेरिकाले चीनलाई अत्याधुनिक ‘एआई चिप्स’ दिन प्रतिबन्ध लगाएको छ भने चीनले यसलाई व्यापारमा अवरोध भनेको छ। बैठकमा राष्ट्रिय सुरक्षा र एआई प्रविधिको सुरक्षित प्रयोगबारे पहिलो पटक गम्भीर छलफल हुँदैछ।

चीन ताइवानलाई आफ्नै भूभाग मान्छ भने अमेरिकाले ताइवानलाई सैन्य तथा कूटनीतिक सुरक्षा दिँदै आएको छ। सीले अमेरिकी सहयोग बन्द गराउन दबाब दिनेछन् भने ट्रम्पले तनाव नबढाई आफ्नो पुरानै नीति निरन्तर राख्न खोज्नेछन्।

रुसबाट सस्तो तेल र ग्यास किन्ने देशहरूमाथि अमेरिकाले १०० प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ। चीन रुसी तेलको ठूलो खरिदकर्ता भएकाले यो विषयमा दुई नेताबीच चर्को बहस हुन सक्छ।

सम्बन्ध थप नबिग्रियोस् भनेर चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेका छन्। एक वर्षभित्र यी दुई नेताको यो तेस्रो भेट हो। आगामी दिनमा हुने एपेक र जी-२० सम्मेलनमा पनि दुई नेताबीच भेटवार्ता हुने सम्भावना छ।

असोज ८, २०८३ बिहीबार ०७:२७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।