दिल्लीमा प्रहरीको नक्कली परिचय दिई ३ जनाद्वारा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित कालकाजी क्षेत्रमा सोमबार बेलुकी प्रहरीको नक्कली परिचय दिँदै तीन जना पुरुषले १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन्। घटनामा संलग्न तीनै जना आरोपीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार पीडित किशोरी सोमबार साँझ करिब ७ बजे आफ्ना साथीसँगै कालकाजी मन्दिरमा दर्शनका लागि पुगेकी थिइन्। पूजापछि दुवै जना कालकाजी र इस्कन मन्दिर जोड्ने नजिकैको पार्कमा गएका थिए। सोही क्रममा २५ देखि ३० वर्ष उमेर समूहका तीन पुरुषहरू आफूहरू प्रहरी अधिकारी भएको बताउँदै उनीहरुलाई धम्क्याए। त्यसपछि आरोपीहरूले बन्दुक र चक्कु देखाएर किशोरीलाई नियन्त्रणमा लिई पालैपालो सामूहिक बलात्कार गरेको प्रहरीलाई उद्धृत गर्दै एनडिटिभीले उल्लेख गरेको छ।
घटनापछि आरोपीहरूले पीडित र उनका साथीलाई धम्की दिँदै घटनास्थलबाट फरार भएका थिए।
घटनाबारे राति ८:४५ बजे प्रहरी नियन्त्रण कक्षमामा खबर प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले किशोरीको उद्धार गरी तुरुन्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको थियो। प्रहरीले पार्क तथा वरपरका क्षेत्रका सीसीटीभी फुटेजहरू संकलन गर्नुका साथै घटनाका बेला आसपासमा उपस्थित मानिसहरूबारे जानकारी लिएर अनुसन्धान गरीरहेको छ।
घटनालगत्तै आरोपीको खोजीमा जुटेको प्रहरीले अमर कोलोनिको डीएम अफिस रोड नजिकै मुख्य आरोपी रहेको विशेष सूचना पाएको थियो। ओखला मन्डीमा काम गर्ने आसिफ नामका आरोपीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी टोलीमाथि तीन राउन्ड गोली चलाएका थिए। प्रहरीले आत्मरक्षाका लागि चलाएको जवाफी गोली आसिफको दाहिने खुट्टामा लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो।
यसैगरी फरार रहेका अन्य दुई आरोपीहरू हेमन्त र मुकेशलाई पनि मङ्गलबार नै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यस घटनामा बाल यौन अपराध संरक्षण (पोक्सो) ऐन लगायत कानुनका विभिन्न कडा धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
१० दिनमा नाबालिगमाथि बलात्कारका चार घटना
यससँगै दिल्लीमा पछिल्लो १० दिनभित्रै नाबालिगमाथि बलात्कार भएको यो चौथो घटना हो। यसअघि सेप्टेम्बर १३ मा उत्तर-पश्चिम दिल्लीको स्वरूप नगरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो। आरोपीमध्ये तीन जना नाबालिग थिए।
त्यसको केही दिनमै सेप्टेम्बर १६ मा उत्तर दिल्लीको सदर बजार क्षेत्रमा कक्षा ६ मा अध्ययनरत १० वर्षीया बालिकाको हात-खुट्टा बाँधेर पसलभित्र बलात्कार गरिएको थियो।
त्यसपछि सेप्टेम्बर २१ मा मध्य दिल्लीको किशन गञ्ज क्षेत्रमा एक ३४ वर्षीय पुरुषले ६ वर्षीया बालिकामाथि यौन हिंसा गरेका थिए।
एकपछि अर्को गर्दै घटेका यी घटनाहरूले भारतको राजधानी दिल्लीमा महिला तथा बालबालिकामाथिको सुरक्षामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।
असोज ६, २०८३ मंगलबार १५:२७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।