लुम्बिनीका सरकारी अस्पताल : तेब्बरले बढ्यो बिरामीको चाप, थपिएन डाक्टरको दरबन्दी !

लुम्बिनीका सरकारी अस्पताल : तेब्बरले बढ्यो बिरामीको चाप, थपिएन डाक्टरको दरबन्दी !

बुटवल : पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

विशेषज्ञ चिकित्सकको उपलब्धता, अत्याधुनिक उपकरण, स्वास्थ्य बीमा कार्यक्रम र सुलभ उपचार खर्चका कारण बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालप्रति बिरामीको आकर्षण ह्वात्तै बढेको हो।

यद्यपि, बिरामीको चापअनुसार पूर्वाधार र जनशक्ति नथपिँदा अस्पताल प्रशासनलाई व्यवस्थापन मिलाउन भने हम्मेहम्मे परिरहेको छ।

लुम्बिनी अस्पतालमा तीन वर्षमा ७१ हजार बिरामी थपिए
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दो छ। अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपीडी) लिने बिरामीको सङ्ख्या ७१ हजार ४९ ले थपिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ३ लाख ४८ हजार ९ सय ७१ ले सेवा लिएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर ४ लाख २० हजार २०८ पुगेको छ। अस्पतालमा ओपीडी मात्र होइन, आकस्मिक सेवा र विशिष्ट परीक्षणतर्फ पनि बिरामीको अत्यधिक चाप छ।

विभिन्न विशेषज्ञ सेवा सुरु भएपछि जटिल रोगको उपचारका लागि काठमाडौं वा चितवन धाउनुपर्ने बाध्यता हटेको छ। हाल यस अस्पतालमा लुम्बिनीका १२ जिल्लासहित गण्डकी, कर्णाली, सुदूरपश्चिम र भारतको सीमावर्ती क्षेत्रबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

राप्ती अस्पतालमा चार वर्षमै बिरामी दोब्बरभन्दा बढी
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको अवस्था पनि फेरिएको छ। चार वर्षअघिसम्म दैनिक २ सय बिरामी पुग्न पनि धौधौ हुने ओपीडीमा अहिले सामान्य दिनमै ५ सयभन्दा बढी बिरामी पुग्ने गरेका छन्। बिदाको भोलिपल्ट यो सङ्ख्या ७ सयसम्म पुग्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदा बताउँछन्।

बिरामीको चाप थेग्न अस्पतालले स्वीकृत ५० शय्याको तुलनामा आन्तरिक स्रोतबाट १४१ शय्या सञ्चालन गरिरहेको छ। विशेषगरी बालरोग, मेडिसिन र प्रसूति वार्डमा शय्याको चरम अभाव देखिने गरेको छ। यहाँ दाङसहित रुकुम, रोल्पा, सल्यान र सुर्खेतसम्मका नागरिक उपचारका लागि आउँछन्।

भीम अस्पतालमा चार वर्षमा सेवाग्राहीको सङ्ख्या दोब्बर
भैरहवास्थित भीम अस्पतालमा पनि पछिल्लो चार वर्षमा बिरामीको सङ्ख्या झन्डै दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा ६३ हजार २ जनाले सेवा लिएको यस अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ९० हजार जनाले सेवा लिएका थिए।

आर्थिक वर्ष २०८०/८१ मा त्यो सङ्ख्या बढेर  १ लाख १२ हजार ८ सय ४५ पुग्दा आर्थिक वर्ष २०८१/८२ मा अझै सेवाग्राहीको चाप बढेको छ। त्यस वर्ष १ लाख २० हजारभन्दा बढी बिरामीले यस अस्पतालमा आएका छन्।

अस्पताल प्रमुख डा. वर्षा थापाका अनुसार अहिले दैनिक सरदर ५ सय बिरामीले ओपीडी सेवा लिइरहेका छन्।

सेवा बिस्तारले बढ्यो चाप
अस्पतालहरू प्रदेश सरकार मातहत आएपछि भौतिक पूर्वाधार, उपकरण र विशेषज्ञ सेवामा लगानी बढाइएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालका अनुसार प्रयोगशाला, भिडियो एक्स-रे, एम्बुलेन्स, मर्चरी फ्रिज थपिनुका साथै दुर्गम जिल्लाहरूमा समेत विशेषज्ञ चिकित्सक पठाउने प्रयासले सरकारी अस्पतालप्रति नागरिकको भरोसा फर्किएको हो।

साथै, स्वास्थ्य बीमा कार्यक्रम लागू हुनुले पनि बिरामीलाई सरकारी अस्पतालतर्फ तानेको छ।

अस्पतालप्रति नागरिकको विश्वास बढ्नु सकारात्मक भए पनि त्यसले जनशक्ति र व्यवस्थापनमा भने ठूलो चुनौती थपेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हाल दैनिक २ हजारभन्दा बढी बिरामी पुग्ने गरे पनि विशेषज्ञ चिकित्सकको दरबन्दी भने दशकौं पुरानो छ।

वरिष्ठ शाखा अधिकृत प्रेमकुमार गौतम भन्छन्, “दैनिक ७ सय बिरामी आउँदा जम्मा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी थियो, अहिले २ हजार बिरामी नाघ्दा पनि दरबन्दी थपिएको छैन।”

सरकारी मापदण्ड अनुसार यस अस्पतालमा करिब १ हजार ६ सय कर्मचारी आवश्यक पर्ने भए पनि अहिले झन्डै १ हजार जनशक्तिकै भरमा सेवा सञ्चालन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए।

१२ सय शय्याको नयाँ भवन बन्दै
बढ्दो चाप व्यवस्थापनका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा हाल १२ तले, १ हजार २ सय शय्याको बहुउद्देश्यीय आधुनिक भवन निर्माण भइरहेको छ।

एउटै छानामुनि ट्रमा केयर, क्यान्सर उपचार, मुटु, नसा तथा मस्तिष्क रोगको विशिष्टीकृत उपचार सेवा दिने लक्ष्यसहित निर्माणाधीन यस भवनको भौतिक प्रगति ४६ प्रतिशत र आर्थिक प्रगति ३९ प्रतिशत पुगेको छ।

पर्याप्त बजेट उपलब्ध भए निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरिने पूर्वाधार विकास प्राधिकरणका प्रमुख इन्जिनियर छविराज पोखरेलले जानकारी दिए।

असोज ६, २०८३ मंगलबार १०:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।