अमेरिकाले पुनः आक्रमण गरे ‘विश्वलाई नै चकित पार्ने’ नयाँ हतियार प्रहार गर्ने इरानको चेतावनी

अमेरिकाले पुनः आक्रमण गरे ‘विश्वलाई नै चकित पार्ने’ नयाँ हतियार प्रहार गर्ने इरानको चेतावनी

एजेन्सी : इरानको रिभोल्युसनरी गार्ड्सले यदि अमेरिकाले थप आक्रमण गरे नयाँ आफूले लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको छ।

युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण-स्तरको युद्धमा फर्कन भने इच्छुक देखिँदैनन्।

 

इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका प्रवक्ताले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन्।”

“हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्राउनेछौं र यसले विश्वलाई चकित पार्नेछ,” उनले थपे। अब आफ्ना लक्ष्यहरू पनि पहिले जस्तो नहुने र अहिलेसम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरू आफूसँग रहेको प्रस्ट पार्दै गार्ड्सले दीर्घकालीन युद्धका लागिसमेत तयार रहेको जनायो।

सरकारी टेलिभिजनका अनुसार शनिबार इरानी सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको बताएको थियो, तर यसको विस्तृत विवरण भने दिइएको थिएन।

गत महिनाको अन्त्यमा तनाव बढेपछि हालका दिनहरूमा अमेरिका र इरानबीचको लडाइँ केही मत्थर भएको छ, यद्यपि तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि छिटपुट आक्रमणहरू जारी राखेको छ। दुवै पक्षले दबाब सिर्जना गर्ने प्रयासमा उक्त जलमार्गमा एक-अर्का विरुद्ध नाकाबन्दी कायम राखेका छन्।

हाल युद्ध यमनसम्म फैलिएको छ; त्यहाँ इरान-समर्थित हुथी विद्रोहीहरूले साउदी-समर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् भने राजधानी रियाद लगायत साउदीका विभिन्न लक्ष्यहरूमा आक्रमणहरू गरिरहेका छन्।

असोज ५, २०८३ सोमबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।