हतियार अमेरिकाले तैनाथ गर्यो, तर ‘स्पेस वार’ भए चीन र अमेरिकामाथि रुस अगाडि!
एजेन्सी : अमेरिकाले हालै पृथ्वीको तल्लो अर्बिटमा अन्तरिक्ष हतियार तैनाथ गरेको घोषणा गरेपछि विश्वभर तरंग पैदा भएको छ। अमेरिकी वायुसेनाका अनुसार शत्रुका सम्भावित आक्रमणबाट आफ्ना सैन्य संरचना जोगाउन यो कदम चालिएको हो।
तर, अन्तरिक्षमा महाशक्ति राष्ट्रहरूबीच हतियारको होडबाजी तीव्र बनिरहँदा, सम्भावित ‘स्पेस वार’मा भने अमेरिका र चीनभन्दा रुस बढी फाइदामा रहने रक्षा विज्ञहरूको विश्लेषण छ।
बेलायतस्थित रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका रक्षा विज्ञ डा. ब्लेडिन बोवेनका अनुसार, अमेरिकाले राखेको हतियार कुनै स्याटेलाइटलाई पूर्ण रूपमा नष्ट गर्नेभन्दा पनि रेडियो सिग्नल जाम गर्ने वा इलेक्ट्रोनिक प्रणाली ठप्प पार्ने खालको उपकरण हुन सक्छ।
यसका अलावा, यो अर्को स्याटेलाइटको नजिक गएर त्यसको जासुसी गर्ने वा समातेर अर्बिटबाट बाहिर धकेल्ने प्रविधि पनि हुनसक्ने विज्ञहरूको अनुमान छ।
रुस र चीनसँग कस्ता प्रविधि छन्?
अन्तरिक्षमा सैन्य गतिविधि नयाँ भने होइन। सन् १९६० को दशकमै तत्कालीन सोभियत युनियनले स्याटेलाइट नष्ट गर्ने कार्यक्रम चलाएको थियो।
पछिल्ला वर्षहरूमा चीन र रुसले ‘रेन्डेभु एन्ड प्रोक्सिमिटी अपरेसन’प्रविधिमा ठूलो प्रगति गरेका छन्। यस प्रविधिमार्फत उनीहरूले आफ्ना स्याटेलाइटलाई पश्चिमा देशका स्याटेलाइटको नजिक लगेर पिछा गर्ने, धक्का दिने वा ‘स्पेस टग’ मार्फत तानेर कक्षाबाटै हटाइदिने क्षमता विकास गरेका छन्।
सन् २००७ मा चीनले जमिनबाटै मिसाइल प्रहार गरेर अन्तरिक्षमा रहेको एउटा स्याटेलाइट नष्ट गरेको थियो। त्यस परीक्षणबाट निस्किएका धातुका टुक्राहरू (फोहोर) अहिले पनि तीव्र गतिमा अन्तरिक्षमा घुमिरहेका छन्, जसले अन्य स्याटेलाइटलाई जुनसुकै बेला क्षति पुर्याउन सक्छ।
आणविक हतियारको जोखिम
लन्डनको किंग्स कलेजका रक्षा विज्ञ डा. रड थोर्नटनका अनुसार रुससँग पृथ्वीबाट अन्तरिक्षका स्याटेलाइट खसाल्न सक्ने शक्तिशाली मिसाइलहरू छन्।
त्यति मात्र होइन, अति संकटको अवस्थामा रुसले अन्तरिक्षमै आणविक हतियार पड्काउन सक्ने जोखिमसमेत छ। अन्तरिक्षमा आणविक विस्फोट हुँदा उत्पन्न हुने ‘इलेक्ट्रोम्याग्नेटिक पल्स’ले विशाल क्षेत्रमा रहेका सबै स्याटेलाइटको विद्युतीय प्रणालीलाई एकैपटक खरानी बनाइदिन सक्छ।
अन्तरिक्ष युद्धमा रुसलाई किन बढी फाइदा?
अन्तरिक्ष प्रविधिमा अमेरिका र चीन निकै अगाडि भए पनि युद्धको स्थितिमा रुस किन भारी पर्न सक्छ भन्ने रोचक कारण छ।
विज्ञहरूका अनुसार अमेरिका र चीन आफ्ना आधुनिक सञ्चार, जासुसी, इन्टरनेट र सैन्य अभियानका लागि अन्तरिक्षमा रहेका हजारौँ स्याटेलाइटमा अत्यधिक निर्भर छन्। तर, त्यसको तुलनामा रुससँग निकै कम स्याटेलाइट छन्।
डा. थोर्नटन भन्छन्, ‘यदि अन्तरिक्षमा युद्ध भयो भने रुस सबैभन्दा ठूलो विजेता बन्न सक्छ। किनभने, युद्धमा गुमाउनका लागि रुससँग धेरै स्याटेलाइट नै छैनन्। तर, रुससँग जमिनबाटै प्रहार गर्ने मिसाइल र लेजर हतियार छन्, जसले अमेरिका र चीनका महत्त्वपूर्ण स्याटेलाइटहरू ध्वस्त पार्न सक्छन्।’
सयौँ स्याटेलाइट गुमाउँदा अमेरिका र चीनको अर्थतन्त्र तथा सैन्य सञ्चार पूर्ण रूपमा ठप्प हुन सक्छ, जबकि कम स्याटेलाइट भएको रुसलाई त्यसको तुलनात्मक क्षति निकै कम हुनेछ। यही असन्तुलनका कारण सम्भावित अन्तरिक्ष युद्धमा रुस अरूभन्दा बलियो स्थितिमा देखिन्छ।
असोज ५, २०८३ सोमबार १०:५०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।