एक हजार प्रहरीले पक्राउ गरेका इन्डोनेसियाका बलात्कारी शिक्षक सुटुक्क रिहा
एजेन्सी : इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलका विद्यार्थीमाथि यौन शोषण गरेको आरोपमा जेल परेका एक शिक्षक समयअगावै सुटुक्क रिहा भएको बीबीसीको अनुसन्धानले खुलाएको छ।
मोच सुब्ची अजल त्सानी (जसलाई 'बेची' भनेर चिनिन्छ) एक प्रभावशाली इस्लामिक धार्मिक नेताका छोरा हुन्। मुस्लिम बहुल देश इन्डोनेसियामा लाखौं अभिभावकले आफ्ना छोराछोरीलाई यस्ता विद्यालयमा पठाउने गर्छन्, त्यसैले बेचीको घटनाले देशैभरि तहल्का मच्चाएको थियो।
सन् २०२२ मा पूर्वी जाभास्थित उनकै बुबाको विद्यालयबाट उनलाई पक्राउ गरिएको थियो। उनलाई पक्राउ गर्न करिब १ हजार दङ्गा प्रहरीलाई १५ घण्टा लागेको थियो, किनकि उनका समर्थकहरूले पक्राउ हुन नदिन ठूलो अवरोध गरेका थिए। सोही वर्षको अन्त्यतिर अदालतले उनलाई यौन शोषणको आरोपमा ७ वर्षको जेल सजाय सुनाएको थियो।
आधा सजाय पनि नकाटी रिहा
बीबीसीका अन्डरकभर पत्रकारहरूले उनलाई यसै वर्षको सुरुमा एक धार्मिक कार्यक्रममा स्वतन्त्र रूपमा घुमिरहेको फेला पारेका थिए। बीबीसीले खिचेको गोप्य भिडिओमा आधा सजाय पनि नकाटेका उनी जेलबाट रिहा भइसकेको पुष्टि भएको छ।
नियमअनुसार उनी सन् २०२७ को मार्चतिर मात्र सर्तसहितको रिहाइमा छुट्न सक्थे वा सन् २०२९ मा मात्र पूर्ण रूपमा रिहा हुनुपर्ने थियो। इन्डोनेसियाको अध्यागमन तथा सुधार मन्त्रालयले बीबीसीलाई नियमअनुसार उनको सजाय छोट्याइएर अगस्टमै रिहा गरिएको बताएको छ, तर सजाय किन घटाइयो भन्ने खुलाएको छैन।
‘मलाई दासजस्तै व्यवहार गरियो’
धेरै छात्राहरूले बेचीमाथि यौन शोषण र बलात्कारको आरोप लगाए पनि एकजनाको उजुरीका आधारमा मात्र उनलाई सजाय भएको थियो। ती पीडितको पहिचान गोप्य राखिएको छ।
तर, अदालतमा बयान दिने अर्की पूर्वछात्रा इरा पुस्पितासरीले पहिलोपटक खुलेर मिडियामा बोलेकी छन्।
‘मलाई उनको दासजस्तै व्यवहार गरियो। मलाई बन्धक बनाएर बलात्कार गरियो र कुटपिट गरियो,’ उनले भनिन्, ‘उनले मलाई 'तिमी मेरी दास मात्र हौ' भनेको म कहिल्यै बिर्सन सक्दिनँ।’
इराका अनुसार १५ वर्षको उमेरदेखि लगातार ४ वर्षसम्म उनलाई बलात्कार गरिएको थियो। भाग्न खोज्दा बेचीका सुरक्षा गार्डले अपहरण गरी एकान्तमा लगेर यातना दिएको उनले बताइन्। पछि उनलाई विद्यालयबाट निकालियो।
प्रहरीमा उजुरी गरेपछि बेचीकी आमाले दबाब र धम्की दिएर उजुरी फिर्ता लिन लगाएको अडियो रेकर्ड पनि इराले बीबीसीलाई उपलब्ध गराएकी छन्।
अहिले बेची जेलबाहिर स्वतन्त्र घुमिरहेको भिडिओ देखेपछि इराले आँसु झार्दै भनिन्, ‘यस्तो लाग्छ, उनीहरूले जिते र म हारेँ। यो कानुनको ठाडो खिल्ली उडाइएको हो।’

आयु मसुराह नामकी अर्की पूर्वछात्राले आफूमाथि शोषण नभए पनि अन्य १० भन्दा बढी पीडित छात्राहरूको बयान सङ्कलन गरेकी थिइन्। बेची रिहा भएको खबरले आफू अत्यन्तै त्रसित भएको र ज्यान मार्ने धम्की आइरहेकाले इन्डोनेसियामै बस्न असुरक्षित महसुस गरिरहेको उनले बताइन्।
कानुनअनुसार बेची रिहा हुँदा अदालतमा बयान दिएका पीडितहरूलाई जानकारी गराउनुपर्ने थियो, तर उनीहरूलाई पत्तै नदिई बेचीलाई छाडिएको छ।
राजनीतिक पहुँच र शक्तिको दुरुपयोग
बेचीको परिवारको राजनीतिक पहुँच निकै बलियो छ। बेची पक्राउ परेपछि सरकारले उक्त विद्यालय सञ्चालन अनुमति रद्द गरेको थियो। तर तत्कालीन राष्ट्रपति जोको विडोडोले हस्तक्षेप गरी विद्यालय खोल्न लगाएका थिए।
उनका बुबाको विद्यालयमा पूर्वराष्ट्रपति विडोडो, वर्तमान राष्ट्रपति प्राबोवो सुबियान्तो र इन्डोनेसियाका प्रहरी प्रमुखसमेत पुगेर समर्थन जनाइसकेका छन्।
विद्यालयका पूर्व वकिल नुन सायुतीले बेचीको सुटुक्क रिहाइ 'पीडितको अधिकारको घोर उल्लङ्घन' भएको बताएका छन्।
उनले भने, ‘पीडितहरूले न्यायका लागि लामो र कठिन कानुनी लडाइँ लडेका थिए, तर अहिले निराश हुनुपरेको छ।’
सायुतीले सुरुमा विद्यालयको पक्षबाट वकालत गरे पनि पछि बेचीका कर्तुत थाहा पाएपछि पीडितको पक्षमा उभिने निर्णय गरेका थिए।
इन्डोनेसियाको राष्ट्रिय महिला हिंसा विरुद्धको आयोगले यस्ता घटनाहरू ‘टीप अफ आइसबर्ग’ मात्र भएको भन्दै इस्लामिक विद्यालयहरूमा यौन हिंसाको अवस्था ‘संकटपूर्ण’ रहेको चेतावनी दिएको छ।
धार्मिक नेताहरूको शक्तिका कारण यस्ता विद्यालयहरूमा हुने अपराध लुकाउने गरिएको र विद्यार्थीहरू उजुरी गर्न डराउने गरेको आयोगको भनाइ छ।
असोज ५, २०८३ सोमबार ०७:३३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।