पत्रकारलाई ओलीले भने- ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

पत्रकारलाई ओलीले भने- ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न पत्रकारलाई सुझाव दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि र समाचार प्रकाशन गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास पालना गर्न सुझाव दिए।

उनले भने, "दुनियाँभरि पत्रकारिताको नियम के हुन्छ भने ‘तपाईँसँग प्रश्न सोध्न सक्छु’ भनेर सोधिन्छ। प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दैछौँ गरौं भनेर सोधिन्छ।"

ओलीले पत्रकारलाई प्रश्न सोध्ने क्रममा आफूखुसी व्यवहार नगर्न समेत आग्रह गरे। अनुमति नलिई प्रश्न गर्ने शैलीप्रति आपत्ति जनाउँदै उनले सभ्य तरिकाले अनुमति लिएर मात्र प्रश्न सोध्ने बानी बसाल्न सञ्चारकर्मीहरूलाई सुझाव दिए।

उनले भने, "पहिले प्रश्न गर्न मिल्छ भनेर सोध्नुस्। तपाईँहरू थुतुनोमै घोचेर, मुखमा घोचेर प्रश्न सोध्नुहुन्छ। त्यो नगर्नुस्, सोध्नुस्, हामी केही प्रश्न गर्न सक्छौँ भनेर?"

असोज ४, २०८३ आइतबार १५:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।