राहुल गान्धीको कार्यक्रममा मोदीको मिमिक्री, ‘संस्कारहीन राजनीति’ भन्दै भाजपाको विरोध
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हाउभाउ, शैली र उनकी दिवंगत आमाको सन्दर्भ जोडेर गरिएको मिमिक्रीलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र मुख्य विपक्षी दल कांग्रेसबीच नयाँ राजनीतिक विवाद सुरु भएको छ।
मध्य प्रदेशको इन्दौरमा आयोजित ‘छात्रों की गूँज’ कार्यक्रममा लोकसभाका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धी सहभागी थिए। सोही कार्यक्रममा प्रधानमन्त्री मोदीको शैली र एक वृद्ध महिलासँग भएको उनको संवादको नक्कल गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भाजपाले गान्धीको आलोचना गरेको हो।
उक्त कार्यक्रमका क्रममा स्ट्यान्ड-अप कमेडियन पुलकित मणिले प्रधानमन्त्री मोदीको हाउभाउ, विदेशी नेताहरूसँग बोल्ने शैली, वैदेशिक नीति र बालबालिकासँग गरेको सिक्काको खेलको मिमिक्री गरेका थिए।
प्रस्तुतिकै क्रममा कमेडियनले विदेशी नेतासँगको संवाद शैलीमा “माई फ्रेन्ड, हाउ आर यु?” भन्दै जिस्काउँदा मञ्चमै रहेका राहुल गान्धीले हाँस्दै “आई एम फाइन, हाउ आर यु मोदी जी?” भनी जवाफ फर्काएका थिए। सो प्रस्तुतिमा प्रधानमन्त्रीकी दिवंगत आमाप्रति संकेत गर्दै गरिएका केही टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएपछि भाजपाले राहुल गान्धी र कांग्रेसको कडा आलोचना गरेको छ।
भाजपाले आफ्नो आधिकारिक ‘एक्स’ ह्यान्डलमा उक्त भिडियो सेयर गर्दै लेखेको छ, "एकतर्फ प्रधानमन्त्री मोदीले वृद्ध आमाप्रति आदर र स्नेह दिए, भने अर्कोतर्फ राहुल गान्धीले आफ्ना कार्यकर्ता/सम्बोधकहरूमार्फत उनको खिल्ली उडाए । संस्कारको राजनीति र देखावटी राजनीतिबीचको मुख्य फरक यही हो।"
सै विषयलाई लिएर उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव र केन्द्रीय शिक्षामन्त्री प्रह्लाद जोशीलगायतका शीर्ष भाजपा नेताहरूले पनि राहुल गान्धीको आलोचना गरेका छन्।
शिक्षामन्त्री जोशीले एक्समा लेखेका छन्, "लज्जास्पद र घृणित! राहुल गान्धी र कांग्रेस पार्टी नैतिक पतनको चरम सीमामा पुगेका छन्। विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदी जीकी दिवंगत आमाको अपमान गर्न प्रयोग गरिनुले गम्भीर मानवीय संवेदना र राजनीतिक संस्कारको अभाव देखाउँछ।"
उत्तराखण्डका मुख्यमन्त्री धामीले पनि आमालाई राजनीतिको विषय बनाउन नहुने बताएका छन्। उनले लेखेका छन्, "आमा राजनीतिको विषय होइनन्। आमाको अपमान कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन। राजनीतिक विरोध आफ्नै ठाउँमा छ, तर प्रधानमन्त्रीज्यूकी दिवंगत आमाबारे गरिएका अशोभनीय टिप्पणीमा हाँस्नुले तपाईंको राजनीतिक संस्कार उजागर गर्छ।’
भाजपाका प्रवक्ता सीआर केसवनले पनि कांग्रेस सांसदको आलोचना गरेका छन्। महिलाहरू तथा एक वृद्ध व्यक्तिको अपमान गर्ने व्यक्तिहरूसँग राहुल गान्धीले एउटै मञ्च साझा गरेको भन्दै उनले यस्तो व्यवहार असभ्य संस्कृति र प्रतिगामी राजनीतिको प्रतिबिम्ब भएको दाबी गरेका छन्।
कार्यक्रममा के भएको थियो?
इन्दौरमा राहुल गान्धीको ‘छात्रों की गूँज’ कार्यक्रममा स्ट्यान्ड–अप कमेडियन पुलकित मणिले छोटो व्यंग्यात्मक प्रस्तुति दिएका थिए। प्रस्तुतिका क्रममा उनले प्रधानमन्त्री मोदीले वैदेशिक भ्रमणका क्रममा प्रयोग गर्ने 'माई फ्रेन्ड' शैलीलाई पटक-पटक दोहोर्याएका थिए।
त्यसपछि प्रधानमन्त्री मोदीकी आमासँग सम्बन्धित टिप्पणी तथा बालबालिकासँगको सिक्का गायब गर्ने खेललाई व्यंग्यको विषय बनाइएको थियो। सोही क्रममा भारतमा भएको एआई समिटसँग जोडिएको ‘गलगोटियास युनिभर्सिटी’ विवादबारे पनि कटाक्ष गरिएको थियो।
प्रस्तुतिका क्रममा यही साता भएको एआई समिटसँग जोडिएको ‘गलगोटियास’ विवादको समेत उल्लेख गरिएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि भाजपाले यसलाई प्रधानमन्त्री मोदीकी दिवंगत आमाको अपमानका रूपमा व्याख्या गर्दै कांग्रेस र राहुल गान्धीको आलोचना गरेको हो।
असोज ४, २०८३ आइतबार १४:२५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।