ट्रम्पले एच-वान-बी भिसाको एक लाख डलर शुल्क थप एक वर्षका लागि बढाए

ट्रम्पले एच-वान-बी भिसाको एक लाख डलर शुल्क थप एक वर्षका लागि बढाए

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-वान-बी भिसा आवेदनमा लगाइएको एक लाख अमेरिकी डलरको शुल्कसम्बन्धी व्यवस्था थप एक वर्षका लागि विस्तार गरेका छन्।

अमेरिकी अदालतहरूमा यससम्बन्धी मुद्दा विचाराधीन रहेकै समयमा आएको यस निर्णयले यो कडा आप्रवासन प्रतिबन्धलाई सन् २०२७ सेप्टेम्बर २१ सम्म कायम रहनेछ। 

ह्वाइट हाउसका अनुसार सेप्टेम्बर २०२५ मा पहिलोपटक जारी गरिएको र यसै महिना सकिन लागेको कार्यकारी आदेशलाई राष्ट्रपति ट्रम्पले नवीकरण गरेका हुन्।

एच-वान-बी कार्यक्रमले अमेरिकी रोजगारदाताहरूलाई सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा दक्ष वैदेशिक जनशक्ति भित्र्याउने सुविधा प्रदान गर्दछ। यो निर्णयबाट सबैभन्दा बढी भारतीय नागरिकहरू प्रभावित हुने देखिएको छ। एच-वान-बी भिसा प्राप्त गर्नेहरूमा जन्मका आधारमा भारतीयहरूको संख्या सबैभन्दा ठूलो छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आर्थिक वर्ष २०२४ को तथ्याङ्कअनुसार स्वीकृत एच-वान-बी निवेदनहरू मध्ये ७१ प्रतिशत भारतीय मूलका नागरिकका थिए। चीनको हिस्सा भने १२ प्रतिशत मात्र रहेको थियो।

ट्रम्प प्रशासनले एच-वान-बी कार्यक्रममा भइरहेको दुरुपयोग, खास गरी सूचना प्रविधि तालीम तथा जनशक्ति व्यवस्थापन र बाह्य सेवा प्रदायक कम्पनीहरूले गरिरहेको अनियमितता रोक्न यो कदम चालिएको स्पष्ट पारेको छ।

केही कम्पनीहरूले कम पारिश्रमिकका पदहरूमा विदेशी कामदार प्रयोग गर्ने र पछि ती कामहरू विदेशमा पठाउने गरेको प्रशासनको दाबी थियो। यसले गर्दा अमेरिकी कामदार र हालैका विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित विषयका स्नातकहरूका लागि रोजगारी पाउन कठिनाइ हुनुका साथै पारिश्रमिकमा समेत गिरावट आएको प्रशासनको ठहर छ।

असोज ३, २०८३ शनिबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।