‘जेमिनाई’ले आफैँ गर्‍यो तीन कम्पनीको सिस्टम ह्याक

‘जेमिनाई’ले आफैँ गर्‍यो तीन कम्पनीको सिस्टम ह्याक

काठमाडौं : गुगलको एआई मोडल ‘जेमिनाई’ ले परीक्षणका क्रममा आफैँ तीनवटा कम्पनीको सिस्टम ह्याक गरेको छ।

साइबर सेक्युरिटीको क्षमता परीक्षणका क्रममा जेमिनाईले मानिसको निर्देशनविना नै आफैँ ती कम्पनीहरूको सिस्टमभित्र पहुँच बनाएको गुगलले जनाएको छ। एआई आफैँले यसरी अनधिकृत रूपमा सिस्टम ह्याक गरेको यो पहिलो घटना भएको दाबी  गरिएको छ।

गुगलका अनुसार जेमिनाईले इन्टरनेटमा उपलब्ध खुला विवरणहरूको अध्ययन गरी प्रयोगकर्ताको ‘पासवर्ड’ अनुमान गरी ती कम्पनीहरूको सिस्टम ह्याक गरेको थियो।

जेमिनाईले ती कम्पनीहरू पनि आफ्नै परीक्षणकै हिस्सा हुन् भन्ने ठानेर त्यसो गरेको गुगलले जनाएको छ। यद्यपि, सिस्टमभित्र प्रवेश गरेपछि जेमिनाई आफैँ रोकिएको थियो। गुगलले प्रभावित तिनै वटा कम्पनीलाई घटनाबारे जानकारी गराइसकेको छ।

गुगलको सुरक्षा इन्जिनियरिङ विभागकी उपाध्यक्ष हेदर एडकिन्सले बीबीसीसँग कुरा गर्दै परीक्षण प्रक्रियामा थप कडाइ गरिएको बताएकी छन्। उनका अनुसार यस घटनाले शक्तिशाली एआई मोडलहरूलाई अझ बढी जिम्मेवार बनाउन तालिम दिनुपर्ने आवश्यकता देखाएको छ।

एआईले दायरा नाघेर यसरी अनपेक्षित कार्य गरेको यो मात्र पहिलो घटना भने होइन। यसअघि गत जुलाईमा एन्थ्रोपिक कम्पनीको ‘क्लाउड’ र ओपनएआईका मोडलहरूले पनि तोकिएको परीक्षण क्षेत्रबाहिर गएर यस्तै साइबर हमला गरेका थिए।

यस्ता घटनाहरू बाहिरिन थालेपछि विश्वभर एआई प्रविधिको विकास र सुरक्षालाई लिएर गम्भीर बहस सुरु भएको छ।

कतिपय विज्ञहरूले एआई मानव जातिका लागि खतरा बन्न सक्ने भन्दै यसको विकासको गतिलाई सुस्त बनाउनुपर्ने चेतावनी दिएका छन् भने एनभिडिया लगायतका कतिपय प्रविधि कम्पनीहरू भने यसको विकास अझ तीव्र पार्नुपर्ने पक्षमा छन्।

यसै विषयलाई लिएर आगामी साता ओपनएआईका प्रमुख साम अल्टम्यानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा सम्बोधन समेत गर्दैछन्।

असोज ३, २०८३ शनिबार १३:३७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।