प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी साढे दुई करोड ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभन देखाएर दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रामेछापका ५९ वर्षीय भरत चौलागाईं र दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटीलाई बिहीबार पक्राउ गरेको हो।
नेपाल सरकार र इजरायल सरकारबीच भएको ‘जी टु जी’ सम्झौताअनुसार केयर गिभरका लागि सन् २०२४ मा लिइएको परीक्षामा लक्की ड्रमा नपरेका १५६ जना व्यक्तिहरूलाई इजरायल पठाइदिने भनेर उनीहरूले ठगी गरेको सीआईबीले जनाएको छ।
उनीहरूले प्रतिव्यक्तिबाट छ लाख २० हजार रुपैयाँका दरले रकम असुलेर दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।
पीडितको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।
असोज २, २०८३ शुक्रबार २२:१५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।