दक्षिण अफ्रिकामा दुई महिनामै नौ महिलाको शव फेला, सिरियल किलर वा आपराधिक समूहको संलग्नताबारे अनुसन्धान हुँदै
एजेन्सी : दक्षिण अफ्रिकाको जोहानेसबर्ग पूर्वमा पर्ने एकुरहुलेनी क्षेत्रमा पछिल्लो दुई महिनामा नौ महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ। रहस्यमय ढङ्गले भइरहेका यी हत्याका घटनाहरूले स्थानीय समुदायमा ठूलो त्रास र चिन्ता फैलाएको छ।
प्रहरीका अनुसार पछिल्लो नवाैं शव बिहीबार बिहान डन पार्कको सडक किनारमा अर्धनग्न शव तन्नामा बेरिएको अवस्थामा फेला परेको हो। करिब ३० वर्षकी जस्तै देखिने ती महिलाको शरीरमा नीलडाम र चक्कु प्रहार गरिएका चोटहरू रहेका छन्, तर उनको पहिचान भने अझै खुल्न सकेको छैन। यसअघि गत जुलाई महिनादेखि एकुरहुलेनी क्षेत्रका विभिन्न स्थानहरूमा आठ जना महिलाको शव फेला परिसकेको थियो। तीमध्ये केही महिलाका शव आंशिक रूपमा कपडा नलगाएको अवस्थामा भेटिएका थिए भने केहीको शरीरमा चोटपटकसमेत देखिएको थियो।
प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र सबै घटनाबीच सम्बन्ध रहे/नरहेको वा एउटै व्यक्तिले हत्या गरेको निष्कर्षमा पुग्न अहिले नै नमिल्ने बताएको छ।
मृतकमध्ये ३८ वर्षीया एलिजाबेथ 'सोन्त्सो' मोसेलाकगोमो गत साता दिउँसो घरबाट दौडिन निस्किएपछि बेपत्ता भएकी थिइन्। उनको शव तीन दिनपछि केम्प्टोन पार्कस्थित एक होटेलको पछाडि भेटिएको थियो। त्यस्तै, जुलाईदेखि बेपत्ता भएकी इतुलुमेंग केकाना र ३८ वर्षीया दिनेओ इभेलिन मोतापानेको शव मंगलबार क्वाथेमाको सडक किनारमा फेला परेको थियो।
पहिलो शव गत जुलाई १५ मा केम्प्टोन पार्कमा भेटिएको थियो। उक्त घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले दुई दिनपछि एक जनालाई पक्राउ गरेको थियो। उनी अहिले पनि हिरासतमा छन्। तर प्रहरीले ती आरोपीलाई अन्य महिलाको मृत्युका घटनासँग जोडेको छैन।
त्यसयता अगस्ट र सेप्टेम्बर महिनामा केम्प्टोन पार्क, ओलिफान्ट्सफन्टेन, क्लेभिल र क्वाथे क्षेत्रमा ती शव भेटिएका हुन्।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले यी घटनाहरूले समाजमा त्रास र अनिश्चितता पैदा गरेको भन्दै दोषीलाई पत्ता लगाउन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका छन्।
कार्यवाहक प्रहरी मन्त्री फिरोज काचालियाले प्रारम्भिक रूपमा यी घटनाहरू छुट्टाछुट्टै जस्ता देखिएकाले तत्कालै कुनै अनुमान नगर्न आग्रह गरेका छन्। प्रहरीले यी हत्याहरूमा कुनै 'सिरियल किलर' को हात छ वा छैन भन्ने पुष्टि भइनसकेको तर कुनै समूह संलग्न रहेको हुनसक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले जासूस, गुप्तचर अधिकारी, फोरेन्सिक विशेषज्ञ र अन्य प्राविधिकहरूको एक बहु-विषयक टोली गठन गरेर अनुसन्धान अघि बढाएको छ भने हाल एक 'इन्ट्रेस्टेड पर्सन' को खोजी गरिरहेको जनाएको छ।
महिलाहरूविरुद्ध भइरहेका यस्ता हिंस्रक अपराधप्रति गम्भीर चिना व्यक्त गर्दै प्रहरीले सर्वसाधारण महिलाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले महिलाहरूलाई एक्लो वा सुनसान बाटोमा नहिँड्न, अपरिचित व्यक्ति र शंकास्पद सवारी साधनप्रति सतर्क रहन, आफ्नो यात्राको विवरण वा लोकेसन विश्वासिलो व्यक्तिलाई शेयर गर्न र बाटोमा हिँड्दा आसपासको वातावरणप्रति सजग रहन उच्च आवाजमा हेडफोन वा इयरबड्स प्रयोग नगर्न सुझाव दिएको छ।
अधिकारीहरूले सूचना दिने व्यक्तिका लागि ४ लाख र्यान्ड (करिब २४ हजार अमेरिकी डलर) पुरस्कारको घोषणा घोषणा गरेका छन्। शव पहिचान गर्न हराइरहेका आफन्त भएका परिवारलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार दक्षिण अफ्रिकामा लैङ्गिक हिंसाको दर विश्वकै उच्च मध्येमा पर्छ, जहाँ महिला हत्याको दर विश्वव्यापी औसतभन्दा पाँच गुणा बढी छ।
असोज १, २०८३ बिहीबार १९:०२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।