भारत र चीनले रुसी तेल किन्न बन्द नगरे १०० प्रतिशत सम्म भन्सार शुल्क लगाउने अमेरिकाको चेतावनी

भारत र चीनले रुसी तेल किन्न बन्द नगरे १०० प्रतिशत सम्म भन्सार शुल्क लगाउने अमेरिकाको चेतावनी

एजेन्सी : रुसबाट तेल तथा ग्यास खरिद गर्दै आएका भारत र चीनलाई लक्षित गर्दै अमेरिकी डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले ‘अर्कै ठाउँबाट तेल तथा ग्यास किन्न’ चेतावनी दिएका छन्।

अमेरिकी संसद्को तल्लो सदनले रुसमाथि थप प्रतिबन्ध लगाउने ‘लिन्डसे ओ. ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ विधेयक बहुमतले पारित भएसँगै उनले भारत र चीनलाई रुसी तेल तथा ग्यास खरिद नगर्न चेतावनी दिएका हुन्।

ब्लुमेन्थलले पत्रकारहरूसँग भने, “चीन र भारत, आफ्नो व्यवहार सुधार्नुहोस्। आफ्नो तेल र ग्यास अन्यत्रबाट किन्नुहोस्। तुष्टीकरण रणनीति होइन।”

तल्लो सदनमा भएको मतदानमा विधेयकको पक्षमा २६२ र विपक्षमा १५९ मत खसेको थियो। यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि पठाइएको छ। यसअघि गत महिना माथिल्लो सदन (सिनेट) ले यसलाई ८६-११ को भारी बहुमतले पारित गरिसकेको छ।

विधेयकले ट्रम्पलाई रुसबाट तेल तथा ग्यास खरिद गर्ने प्रमुख पाँच देश भारत, चीन,अजरबैजान, हंगेरी र स्लोभाकियाबाट आयात हुने सामानमा १०० प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लगाउन सक्ने अधिकार दिएको छ। 

तर, विधेयकले भारत वा चीनका सामानमा तत्काल १०० प्रतिशत कर लगाएको भने होइन। यसले त्यस्तो कर लगाउने अधिकार मात्र अमेरिकी राष्ट्रपतिलाई दिएको हो। विधेयक कानुन बनेपछि ट्रम्पले निश्चित कानुनी सर्तअन्तर्गत उक्त अधिकार प्रयोग गरेमा मात्रै यस्तो कर लागू हुन सक्छ।

विधेयकको मुख्य उद्देश्य रुसको नेतृत्व, वित्तीय संस्था र ऊर्जा क्षेत्रमाथि दबाब बढाउनु तथा युक्रेन युद्धका लागि रुसले प्राप्त गर्ने ऊर्जा आम्दानीलाई कमजोर बनाउनु हो। यसले अमेरिकी प्रतिबन्ध छल्न सहयोग गर्ने पानीजहाज तथा अन्य संस्था र निकायमाथि पनि प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ। साथै, इरानमाथिका प्रतिबन्ध पनि विस्तार गर्ने प्रावधान विधेयकमा छ।

त्यस्तै डेमोक्रेटिक सिनेटर जिन शाहिनले रुसले प्रतिबन्ध छल्न प्रयोग गरिरहेको 'शैडो फ्लिट' (गुप्त जहाजहरू) मार्फत सस्तो मूल्यमा भारत र चीनजस्ता देशहरूलाई तेल बेचिरहेको बताइन्। "चीन रुसी तेल र ग्यासको सबैभन्दा ठूलो उपभोक्ता हो। हामीले पुटिनलाई मात्र होइन, चीन र रुसी ऊर्जा खरिद गर्ने जोकसैलाई पनि यसको मूल्य चुकाउनुपर्छ भन्ने स्पष्ट सन्देश दिन आवश्यक छ," शाहिनले भनिन्।

ट्रम्पलाई थप ट्यारिफ अधिकार दिएको भन्दै डेमोक्रेटिक सांसदको आपत्ति

विधेयकलाई दुवै दलको समर्थन प्राप्त भए पनि विरोध गर्ने अधिकांश डेमोक्रयाटहरूले युक्रेनलाई सहयोग गर्ने विषयमा सहमति जनाए पनि राष्ट्रपति ट्रम्पलाई थप भन्सार शुल्क लगाउने व्यापक अधिकार दिने कुरामा आपत्ति जनाएका  छन्। "हामी यस राष्ट्रपतिलाई थप भन्सार शुल्कको अधिकार दिने पक्षमा छैनौं," डेमोक्रेटिक सांसद रिचर्ड नीलले बहसका क्रममा भने।

यो विधेयक साउथ क्यारोलाइनाका दिवंगत रिपब्लिकन सिनेटर लिन्डसे ओ. ग्राहमको सम्मानमा नामकरण गरिएको हो, जसले रुस र इरानमाथि कडा प्रतिबन्धका लागि लामो समयदेखि वकालत गर्दै आएका थिए।

अमेरिकी संसद्‌मा विधेयकमाथि बहस भइरहँदा बाहिर 'अमेरिकन कोलिसन फर युक्रेन' ले आयोजना गरेको 'युक्रेन एक्सन समिट' चलिरहेको थियो। साथै, यो मतदान चिनियाँ राष्ट्रपति सि जिनपिङको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा भएको हो।

असोज १, २०८३ बिहीबार १२:५९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।