एचआईभी संक्रमण अनियन्त्रित बनेपछि फिजीमा स्वास्थ्य संकटकाल घोषणा
एजेन्सी : प्रशान्त महासागरको टापु राष्ट्र फिजीले एचआईभी संक्रमण तीव्र गतिमा फैलिएपछि देशव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।
अवस्था भयावह बन्दै गएपछि सरकारले परीक्षण, उपचार तथा रोकथामका सेवाहरूलाई आपत्कालीन रूपमा विस्तार गर्ने निर्णय गरेको हो।
१० लाखभन्दा कम जनसङ्ख्या भएको फिजीमा हाल प्रत्येक ६० जना वयस्कमध्ये एक जनामा एचआईभी संक्रमण पाइएको छ।
पाँच वर्षअघिसम्म यो अनुपात १६७ जनामा एक जना मात्र थियो। संक्रमण बढेसँगै एचआईभीसम्बन्धी जटिलताका कारण नवजात शिशुहरूको मृत्यु हुने दरसमेत बढेको छ।
फिजीका स्वास्थ्यमन्त्री एन्टोनियो लालाबालाभुका अनुसार सन् २०२५ मा मात्रै २ हजार १६ जना नयाँ संक्रमित थपिएका छन्। सामान्य रोकथामका उपायहरूले मात्र अब यो महामारी रोक्न नसकिने भएकाले संकटकाल घोषणा गरिएको उनले स्पष्ट पारेका छन्।
किन फैलियो संक्रमण ?
स्वास्थ्य विज्ञहरूका अनुसार असुरक्षित यौनसम्पर्क, लागूऔषधको कुलत, एउटै सुई धेरै जनाले प्रयोग गर्नु र ‘ब्लुटुथिङ’ जस्तो खतरनाक अभ्यासका कारण यो महामारी फैलिएको हो।
‘ब्लुटुथिङ’ वा ‘हटस्पटिङ’ भन्नाले लागूऔषधको कडा नशामा रहेको व्यक्तिको शरीरबाट सिरिन्जमार्फत रगत तानेर अर्को व्यक्तिको शरीरमा इन्जेक्ट गर्ने घातक तरिका हो।
सुईको अभाव हुनु र सस्तोमै धेरै जनाले नशा बाँडेर लिन मिल्ने भएकाले लागूऔषध प्रयोगकर्तामाझ यस्तो चलन बढेको छ, जसले रगतमार्फत एचआईभी तीव्र रूपमा फैलाइरहेको छ।
संयुक्त राष्ट्रसंघीय एचआईभी/एड्स कार्यक्रमका अनुसार फिजीमा हाल करिब ९ हजार १०० जना एचआईभी संक्रमित छन्। तर, तीमध्ये ३९ प्रतिशतलाई मात्र आफू सङ्क्रमित भएको थाहा छ भने जम्मा २२ प्रतिशतले मात्र नियमित औषधि पाइरहेका छन्।
विश्वभर औसत ७८ प्रतिशत संक्रमितले उपचार पाइरहेका बेला फिजीको यो आँकडा निकै चिन्ताजनक हो।
स्वास्थ्यमन्त्री लालाबालाभुले नागरिकहरूलाई खुलेर परीक्षण गराउन आग्रह गरेका छन्।
‘एचआईभी भएकै कारण कोही पनि लज्जित वा समाजबाट बहिष्कृत हुनु हुँदैन। सामाजिक डर र लाञ्छनाले मानिसहरूलाई उपचार लिनबाट रोकिरहेको छ’, उनले भने।
सरकारले संक्रमण रोकथामका लागि निःशुल्क सफा सुई र सिरिन्ज वितरण गर्न आवश्यक कानुन संशोधन गर्ने तयारी गरेको छ।
नियन्त्रणमा आउन ५ वर्ष लाग्ने
फिजीको राष्ट्रिय एचआईभी टास्कफोर्सका प्रमुख जेसन मिचेलले यो महामारी नियन्त्रणमा आउन कम्तीमा पाँच वर्ष लाग्ने बताएका छन्।
‘यो कोभिड-१९ जस्तो दुई वर्षमै सामान्य अवस्थामा फर्किने विषय होइन। यसले फिजीको पहिलेदेखि नै कमजोर रहेको अस्पताल र स्वास्थ्य प्रणालीमा ठूलो भार पारेको छ’, उनले भने।
यसैबीच, युएन एड्सले फिजी सरकारको सङ्कटकाल घोषणाको स्वागत गरेको छ।
संस्थाकी कार्यकारी निर्देशक विनी ब्यानिमाले विश्व समुदायलाई सचेत गराउँदै भनिन्, ‘फिजीको अवस्थाले विश्वभर एड्स अझै समाप्त भइनसकेको स्पष्ट सन्देश दिएको छ। यस्ता महामारी द्रुत गतिमा फैलिन सक्ने भएकाले जुनसुकै देशको स्वास्थ्य प्रणाली पनि तत्काल प्रतिकार्य गर्न तयार रहनुपर्छ।’
असोज १, २०८३ बिहीबार ०९:५७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।