अमेरिकाले पहिलोपटक अन्तरिक्षमा ‘अर्बिटल’ हतियार तैनाथ गरेको पुष्टि,  आक्रामक र रक्षात्मक दुवै रूपमा प्रयोग गर्न सकिने

अमेरिकाले पहिलोपटक अन्तरिक्षमा ‘अर्बिटल’ हतियार तैनाथ गरेको पुष्टि,  आक्रामक र रक्षात्मक दुवै रूपमा प्रयोग गर्न सकिने

एजेन्सी : अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेको छ। अमेरिकी स्पेस फोर्सले अन्तरिक्षमै तैनाथ गरिएका ‘स्पेस कन्ट्रोल’ हतियार अमेरिकासँग रहेको जनाएको हो।

मेरील्यान्डको नेसनल हार्बरमा आयोजित वार्षिक ‘एयर, स्पेस एन्ड साइबर कन्फरेन्स’लाई सम्बोधन गर्दै अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइन्कले अमेरिकाले अन्तरिक्षमा ‘अन-अर्बिट’ हतियार तैनाथ गरेको जानकारी दिए।

मेइन्कका अनुसार अमेरिकी सेनालाई शत्रुबाट हुने सम्भावित खतराबाट जोगाउन यस्ता हतियार आवश्यक परेका हुन्। उनले कुनै देशको नाम प्रत्यक्ष रूपमा नलिए पनि यो यो भनाइलाई चीन र रुसप्रति लक्षित चेतावनीका रूपमा हेरिएको छ।

तर मेइन्कले अन्तरिक्षमा तैनाथ गरिएको हतियार कुन प्रकारको हो भन्नेबारे कुनै जानकारी दिएनन्। उनले उक्त हतियारलाई ‘स्पेस कन्ट्रोल’ अर्थात् अन्तरिक्ष क्षेत्रमा नियन्त्रण कायम गर्न प्रयोग गरिने संकेत भने गरेका छन्। उनले अन्तरिक्षमा विकसित हुँदै गरेका खतरालाई सामना गर्न यस्तो क्षमता आवश्यक रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकालाई मिसाइल तथा अन्य वायुमण्डलीय खतराबाट बदेशको रक्षा गर्न प्रस्ताव गरेको 'गोल्डेन डोम' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि अन्तरिक्ष क्षमतालाई द्रुत गतिमा विस्तार गरिरहेका बेला सचिव मेइन्कको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी स्पेस फोर्सका प्रवक्ताले एक वक्तव्य जारी गर्दै शत्रु राष्ट्रबाट हुने कारबाहीविरुद्ध अमेरिकी सेनाको रक्षा गर्न सक्ने ‘अन-अर्बिट स्पेस कन्ट्रोल हतियार’ रहेको पुष्टि गरेका छन्। तर वक्तव्यमा त्यस्ता हतियारको प्रकृति, संख्या वा तैनाथ गरिएको स्थानबारे कुनै विवरण दिइएको छैन।

"संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण विरोधीका गतिविधिबाट संयुक्त बल (जोइन्ट फोर्स) को रक्षा गर्न सक्ने अन-अर्बिट स्पेस कन्ट्रोल हतियारहरू उपलब्ध छन्।अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गर्न र यसलाई नियन्त्रणमा राख्नका लागि आवश्यक मिसनहरू स्पेस कन्ट्रोलभित्र पर्छन्, जसमा विरोधीका क्षमताहरूलाई प्रभावित पार्न काइनेटिक (प्रत्यक्ष भौतिक प्रहार) र नन-काइनेटिक (गैर-भौतिक वा डिजिटल/लेजर) दुवै माध्यमको प्रयोग गरिन्छ।" 

यी क्षमताहरूलाई आक्रामक र रक्षात्मक दुवै उद्देश्यका लागि प्रयोग गर्न सकिने स्पेस फोर्सले जनाएको छ।

अन्तरिक्षमा हतियारको होड 

अन्तरिक्षको सैन्यीकरण नयाँ विषय भने होइन। सन् १९५७ मा सोभियत संघले ‘स्पुतनिक’लाई भू-उपग्रह कक्षमा प्रक्षेपण गरिएसँगै अन्तरिक्ष प्रतिस्पर्धा सुरु भएको थियो। त्यसपछि अमेरिका र मस्को दुवैले अन्तरिक्षमा हतियार राख्ने तथा एकअर्काका भू-उपग्रहहरूलाई नष्ट गर्ने उपायहरूको खोज सुरु गरेका थिए।

त्यस समयमा अन्तरिक्षमा आणविक हतियारहरू तैनाथ हुन सक्ने विषय प्रमुख चिन्ताको विषय बनेको थियो। त्यसपछि अमेरिका, सोभियत संघलगायत विभिन्न देशले सन् १९६७ मा ‘आउटर स्पेस ट्रिटी’ अर्थात् अन्तरिक्ष सन्धिमा हस्ताक्षर गरे। उक्त सन्धिले अन्तरिक्षको कक्षमा व्यापक विनाशकारी हतियार (डब्लूएमडी) तैनाथ गर्न प्रतिबन्ध लगाएको छ।

तर त्यसयता अमेरिका, रुस, चीन र भारतजस्ता विश्वका प्रमुख शक्तिहरूले उक्त सन्धिले प्रत्यक्ष रूपमा नरोकेका विभिन्न अन्तरिक्ष तथा ‘काउन्टरस्पेस’ क्षमता विकास गर्दै आएका छन्। ​​​​​​​

रुस र चीनको बढ्दो क्षमताप्रति अमेरिकाको चासो

अमेरिकाका दुई प्रमुख भू-राजनीतिक प्रतिद्वन्द्वी रुस र चीन दुवैले अन्तरिक्षमा अमेरिकी हितका लागि सम्भावित खतरा उत्पन्न गरिरहेको अमेरिकी दाबी छ।

अमेरिकी स्पेस फोर्सका अनुसार चीनले आफ्नो सैन्य आधुनिकीकरण रणनीतिको हिस्साका रूपमा अन्तरिक्ष तथा ‘काउन्टरस्पेस’ क्षमता विकास र सञ्चालन गरिरहेको छ। त्यस्तै, रुसले अन्तरिक्षलाई युद्ध सञ्चालनको क्षेत्रका रूपमा हेर्ने र भविष्यका द्वन्द्वमा अन्तरिक्षमाथिको प्रभुत्व निर्णायक हुने विश्वास राख्ने अमेरिकी स्पेस फोर्सको दाबी छ।

भदौ ३०, २०८३ मंगलबार ११:५९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।