जेडी भान्स बन्लान् त ट्रम्पका उत्तराधिकारी?
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल निर्णय गर्न अस्वीकार गर्दै त्यसका लागि अहिले ‘धेरै चाँडो’ भएको बताएका छन्।
आयरल्यान्डको श्याननबाट एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले भान्सले उत्कृष्ट काम गरिरहेको बताउँदै रिपब्लिकन पार्टीसँग नेतृत्वका लागि धेरै योग्य व्यक्ति रहेको उल्लेख गरे।
“मलाई लाग्छ, उहाँ उत्कृष्ट हुनुहुन्छ। हामीसँग धेरै अद्भुत व्यक्ति छन्। हाम्रो ‘बेन्च’ निकै बलियो छ”, उनले भने।
यसअघि अगस्टमा द वासिङ्टन पोस्टले दाताहरूसँगको निजी बैठकमा राष्ट्रपति ट्रम्पले सम्भावित उत्तराधिकारीका रूपमा भान्सको पक्षमा सकारात्मक धारणा राख्दै ‘हामीले जेडीलाई चयन गर्न आवश्यक छ’ भनेको समाचार प्रकाशित गरेको थियो।
यद्यपि, उनले विदेशमन्त्री मार्को रुबियोलाई समेत सम्भावित उत्तराधिकारीका रूपमा विचार गर्दै आएको बताइएको छ। ट्रम्पका सल्लाहकारहरूका अनुसार उनले उत्तराधिकारीबारे अन्तिम निर्णय गरिसकेका छैन।
आगामी कङ्ग्रेसनल मध्यावधि निर्वाचनको परिणामले सन् २०२८ को राष्ट्रपतीय दौडमा प्रभाव पार्न सक्ने भएकाले अहिलेको अनुमान अपरिपक्व हुने उनीहरूको भनाइ छ।
यसैबीच, रिपब्लिकन पार्टीका दाता तथा कार्यकर्ताहरू भान्स र रुबियोमध्ये सम्भावित उम्मेदवारका पक्षमा विभाजित हुन थालेका छन्।
भान्सले पनि आगामी नोभेम्बरको मध्यावधि निर्वाचनपछि मात्र आफ्नो सन् २०२८ को राजनीतिक योजनाबारे निर्णय गर्ने सङ्केत गर्नुभएको छ। रुबियोले भने राष्ट्रपतीय आकाङ्क्षाबारे अहिलेसम्म प्रत्यक्ष टिप्पणी गरेका छैन।
भदौ २९, २०८३ सोमबार १४:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।