ब्रिक्सको डिनर मेनुमै राजनीतिक घमासान, राहुलले भने- ‘८० प्रतिशत भारतीय मांसाहारी हुन्’
एजेन्सी : नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’मा आयोजित ब्रिक्स शिखर सम्मेलनको रात्रिभोजको मेनुलाई लिएर भारतमा राजनीतिक विवाद भएको छ।
विदेशी पाहुनाहरूलाई ‘पूर्ण शाकाहारी’ भोजन मात्र पस्किएपछि भारतीय विपक्षी दलहरूले सरकारले आफ्नो खानपानको रुचि विदेशी पाहुनामाथि थोपरेको र भारतको बहुलवादी खानपान संस्कृति लुकाएको आरोप लगाएका छन्।
यसै विवादका बीच भारतीय लोकसभाका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’मा छोले-भटूरेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘८० प्रतिशत भारतीयहरू मांसाहारी हुन्। भारतीय मांसाहारी खाना निकै स्वादिष्ट हुन्छ र मेरी बहिनीले बनाएको छोले-भटूरे पनि उत्तिकै मीठो छ।’
के थियो मेनुमा ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रिभोजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत विश्वका शीर्ष नेताहरू सहभागी थिए।
उक्त रात्रिभोजमा स्टार्टरदेखि डेजर्टसम्म सबै शाकाहारी परिकार मात्र राखिएको थियो। मेनुमा पनीर लबाबदार, गुच्छी मार्मिक, कोदोको पुलाउ, क्यारोट बिन पोरियल, ठक्कली बेले सारु, चुकन्दरको रायता र मिठाईमा ‘काफल फिरनी’ जस्ता परिकारहरू समावेश थिए। कतै पनि मांसाहारी खाना थिएन।
कांग्रेस प्रवक्ता पवन खेडाले मोदी सरकारको कडा आलोचना गर्दै भनेका छन्, “भाजपाको आफ्ना नागरिकमाथि खानपानको रुचि थोपर्ने बानी त पहिलेदेखि नै चिन्ताजनक थियो। अहिले संसारभरका पाहुनामाथि पनि आफ्नो रुचि थोपरेर सरकारले हद नाघेको छ।”
उनले भारतको समृद्ध र विविधतायुक्त संस्कृतिमा मांसाहारी परिकारको पनि उत्तिकै महत्त्व रहेको भन्दै सरकारले यस्तो विविधता देखाउन लाज मानेको आरोप लगाए।
त्यसैगरी, एआईएमआईएमका नेता वारिस पठानले भारतको विविधता भाषा र संस्कृतिमा मात्र नभई ‘थाली’मा पनि देखिनुपर्ने बताए।
‘विश्वका ठूला नेताहरू आएका बेला हैदराबादी बिर्यानी, बटर चिकेन, मटन मसाला फ्राइ र गोवन फिस करी जस्ता विश्वप्रसिद्ध भारतीय परिकारहरू किन पस्किएन?’, उनले प्रश्न गरे।
वरिष्ठ भारतीय पत्रकार राजदीप सरदेसाईले पनि विभिन्न सर्वेक्षणहरूले भारतका ७० देखि ८० प्रतिशत जनता मांसाहारी देखाउने उल्लेख गर्दै पूर्ण शाकाहारी मेनुलाई ‘शाकाहारको अतिवादी प्रचार’को संज्ञा दिएका छन्। उनले माछाबिनाको तटीय खाना र मासुबिनाको अवधी खानाको कल्पना नै हुन नसक्ने बताए।
भाजपाको जवाफ : ‘खानाको मेनुमा पनि राजनीति ?’
विपक्षी दलहरूको आलोचनापछि भारतीय जनता पार्टी (भाजपा) का नेता तथा केन्द्रीय मन्त्री किरेन रिजिजुले कडा प्रतिवाद गरेका छन्।
मन्त्री रिजिजुले एक्समा लेखेका छन्, ‘मलाई विश्वास नै भइरहेको छैन कि कांग्रेस पार्टी ब्रिक्स नेताहरूलाई दिइएको खानाको मेनुमा समेत राजनीति गरिरहेको छ।’
उनले विदेशी पाहुनाहरूले स्वाद, पोषण र विभिन्न क्षेत्रीय परम्पराले भरिपूर्ण भारतीय शाकाहारी भोजनको निकै आनन्द लिएको दाबी गरेका छन्।
भदौ २९, २०८३ सोमबार १४:०५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।