भारतले जित्यो महिला एसिया कप, तर एसीसी अध्यक्षको हातबाट ट्रफी लिन मानेन

भारतले जित्यो महिला एसिया कप, तर एसीसी अध्यक्षको हातबाट ट्रफी लिन मानेन

दुबई : दुबईमा सम्पन्न महिला टी-२० एसिया कपको उपाधि जितेको भारतीय टोलीले एसियाली क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष  मोहसिन नक्वीको हातबाट विजेता ट्रफी लिन अस्वीकार गरेको छ।

आइतबार राति भएको फाइनल खेलमा श्रीलंकालाई ७२ रनले हराउँदै भारतले आठौं पटक एसिया कपको उपाधि जितेको हो। पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। जवाफमा श्रीलंकाको टोली २० ओभरमा १११ रनमै अलआउट भयो।

खेल सकिएपछि भारतीय कप्तान हरमनप्रीत कौरले मैदानमा साथी खेलाडीहरूसँग जितको खुसी मनाइन्, तर पुरस्कार वितरण समारोहमा भने उनी ट्रफी लिन मञ्चमा गइनन्।

एसीसी प्रमुखका रूपमा त्यहाँ उपस्थित पाकिस्तानी मन्त्री नक्वीबाट उपविजेता श्रीलंकाकी कप्तान चमारी अटापट्टूले चेक र मेडल बुझेकी थिइन्। तर, भारतीय टोलीले ट्रफी लिन नमानेपछि अम्पायर र उपविजेतालाई पुरस्कार दिएर समारोह हतारहतार टुङ्ग्याइएको थियो।

भारत र पाकिस्तानबीचको राजनीतिक तथा कूटनीतिक तनावका कारण भारतीय खेलाडीहरू पाकिस्तानी प्रतिनिधिहरूसँग मञ्च साझा गर्न र हात मिलाउनबाट पन्छिँदै आएका छन्। यसअघि भारतीय पुरुष क्रिकेट टोलीले पनि नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको थियो।

कसको प्रतिक्रिया के ?
खेलपछिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक मजुमदारले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अडानलाई आफूहरूले समर्थन गरेको बताए।

उनले भने, ‘हामी च्याम्पियन बनेका छौँ, हाम्रा लागि यति नै काफी छ। हाम्रा लागि यो प्रतियोगिता आधिकारिक रूपमा सकियो र हामी अब एशियन गेम्सको तयारीमा लाग्नेछौँ।’

बीसीसीआईका सचिव देवजीतले दुई देशबीचको तनावका कारण जनताको भावनालाई कदर गर्दै यस्तो निर्णय लिइएको बताए।

‘सरकारको नीतिअनुसार हामी बहुपक्षीय प्रतियोगितामा पाकिस्तानविरुद्ध खेल्छौँ, तर सीमा क्षेत्रको तनावपछि जनताको ठूलो दबाबका कारण सम्बन्ध सामान्य हुन सकेको छैन’, उनले भने।

पाकिस्तानी गृह राज्यमन्त्री तलाल चौधरीले भारतीय टोलीको यो व्यवहारलाई खेल भावनाविपरीत भन्दै आलोचना गरेका छन्। उनले भारतले खेलकुदमा 'अति-राष्ट्रवाद' लादेर खेल संस्कृतिलाई बिगारेको आरोप लगाए।

कप्तान हरमनप्रीत कौर :
विवादबारे केही नबोले पनि कप्तान हरमनप्रीतले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरिन्। उनले पहिलो विकेटका लागि १२९ रनको उत्कृष्ट साझेदारी गर्ने ओपनरद्वय स्मृति मन्धना र शेफाली वर्माको खुलेर प्रशंसा गरिन्।

‘दुबईको सुस्त पिचमा ब्याटिङ सहज थिएन, तर हाम्रा ओपनरहरूले उत्कृष्ट काम गरे। हामीले सोचेअनुसारकै खेल प्रदर्शन गर्यौँ र टोलीको जितबाट म निकै खुसी छु’, उनले भनिन्।

भदौ २९, २०८३ सोमबार १३:१६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।