भोटेकोशी बाढीले खोसेको खुसी : तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन!
बाँके : हरेक वर्ष भदौको यो समय बाँकेको नेपालगञ्ज-२० मनिकापुरस्थित थपुवागाउँमा छुट्टै रौनक हुन्थ्यो। आँगन-आँगनमा मादल घन्किन्थे, रातो सारीको झिलीमिलीसँगै दिदीबहिनीका सुरिला भाकाले गाउँ गुञ्जायमान बन्थ्यो।
तर, यसपालि थपुवाको आकाशमा न तीजको उमङ्ग छ, न त मादलको ताल नै। गाउँमा छाएको छ त केवल- सन्नाटा।
यो सन्नाटा भदौ १० गते रसुवाको भोटेकोशीमा उर्लिएको बाढीसँगै थपुवागाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाइदिएपछिको हो। चाडबाडको मुखमा गाउँलेका प्यारा अनुहारहरू नदीको भेलमा हराएपछि सिङ्गो बस्ती यतिबेला शोकको गहिरो भुमरीमा छ।
रित्तिएको अनलालको संसार
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा वर्षौंदेखि काम गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय र उनकी ५६ वर्षीया पत्नी विष्णुमती रोकायको सपना आफ्ना सन्तानको भविष्य उज्यालो बनाउनु नै थियो।
त्यही सपनाको बाटो पछ्याउँदै १९ वर्षीय छोरा दीपक रोकाय गोसाइँकुण्ड दर्शन गर्ने र आमाबुबालाई भेट्ने रहर बोकेर केही दिनअघि मात्रै रसुवा पुगेका थिए। तर, भोटेकोशीको लेदोसहितको बाढीले आमा, बुबा र छोरा तीनै जनालाई एकसाथ निलिदियो।
घरमा एक्लै परेका अनलाल रोकाय यतिबेला ढोकाको सङ्घारमा टोलाइरहेका भेटिन्छन्। बुढेसकालको सहारा बन्ने एक्लो भतिजो, जीवनका खम्बा बनेका दाजु र भाउजूको कुनै पत्तो छैन।
‘कतैबाट टुप्लुक्क आइहाल्छन् कि!’ भन्ने झिनो आशा र भित्री मनको छटपटीबीच अनलालको आँखाबाट आँसु ओभानो हुन सकेको छैन।
बाटो कुरिरहेका तीन अबोध आँखाहरू
रोकाय परिवारको जस्तै कारुणिक कथा छ, सोही गाउँका आराम दमाईं र उजना दमाईंको घरमा पनि।
दैनिक गुजाराकै लागि यो दम्पती रसुवा पुगेको थियो। बाढीले उनीहरूलाई पनि बगाएर बेपत्ता बनाएपछि घरको मूली मात्र होइन, आशाको दियो नै निभेको छ।
घरमा बाँकी छन्- १६ वर्षीय सुभाष, ११ वर्षीय अश्विन र ९ वर्षीया बहिनी स्मारिका।
तीजको सङ्घारमा आमाले नयाँ लुगा र मिठो खानेकुरा ल्याइदिने बाटो हेर्नुपर्ने यी कलिला आँखाहरू अहिले गाउँको बाटोतर्फ टोलाउँदै आमाबुबाको प्रतीक्षा गरिरहेका छन्।
आफ्ना सहाराहरू अब कहिल्यै नफर्किने गरी नदीमा बिलाइसकेको भन्ने उनीहरूलाई अझै पूर्ण विश्वास छैन।
‘गीत होइन, प्रार्थना रोजेको गाउँ’
स्थानीय टेकराज जैसीका अनुसार थपुवागाउँमा यतिबेला चुलो बल्नु नै ठूलो कुरा भएको छ, चाडपर्व त धेरै परको विषय बन्यो।
“गाउँका पाँच-पाँच जना सदस्य बाढीले निलेपछि कसको मनमा उत्सव पलाओस्?”, जैसी भन्छन्, “यस्तो बेला तीज कसरी मनाउनु? हामी सबै मिलेर पीडित परिवारको आँसु पुछ्ने र घाउमा मलम लगाउने कोसिस गरिरहेका छौँ।”
गाउँमा पर्वको कुनै तडकभडक छैन। न कतै चुरा-पोतेको चमक छ, न त रेडियोमा बज्ने तीजका गीत।
नेपालगञ्ज-२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाको भनाइले पनि गाउँको वास्तविक पीडा बोल्छ, “यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ। हाम्रो एउटै कामना छ- हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन्।”
कार्यवाहक वडाध्यक्ष बुढाले बेपत्ताहरूको खोजी तीव्र पार्न दबाब दिने र सहाराविहीन बनेका ती अबोध बालबालिकाको लालनपालन तथा शिक्षाका लागि वडा र उपमहानगरबाट अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पीडाको साझा भूगोल
रसुवाको भोटेकोशीमा आएको त्यो बाढीले केवल थपुवागाउँलाई मात्र होइन, सिङ्गो बाँके जिल्लालाई नै रुवाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सो विपद्पछि जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव भेटिएर सनाखत भइसकेको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।
अङ्कमा २३ जना बेपत्ता भन्नु सामान्य तथ्याङ्क जस्तो देखिएला, तर ती २३ सँगै कयौँ परिवारका सपना, सहारा र खुसीहरू भोटेकोशीको गहिरो भेलमा सधैँका लागि हराएका छन्। तीजको रातो रङ्गले ढपक्कै हुनुपर्ने थपुवागाउँ यतिबेला आँसुको नमेटिने रङ्गले पोतिएको छ।
भदौ २९, २०८३ सोमबार ०७:४९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।