आज भदौ २९ : बाल दिवस र महाकवि देवकोटाको स्मृति दिवस मनाइँदै
काठमाडौं : आज भदौ २९ गते देशभर एकातिर राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ भने अर्कातिर नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो।
उनको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक मैतीदेवीस्थित ‘महाकवि देवकोटा सङ्ग्रहालय’मा ‘महाकवि देवकोटा: मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरेको छ।
कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृतिपत्र र समालोचक महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने प्रज्ञा परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए।
विसं १९६६ कात्तिक २७ गते (लक्ष्मीपूजाका दिन) काठमाडौंको डिल्लीबजारमा जन्मेका देवकोटाले दश वर्षकै उमेरदेखि कविता लेख्न थालेका थिए। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कालजयी कृति दिएर अन्तर्राष्ट्रियस्तरमा चिनाए।
तीन महिनामा ‘शाकुन्तल’ र १० दिनमै ‘सुलोचना’ महाकाव्य लेख्न सक्ने असाधारण प्रतिभा भएका देवकोटाको ‘मुनामदन’ नेपाली साहित्यमा हालसम्मकै सर्वाधिक बढी बिकेको पुस्तक हो।
विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले देशभर नेपाली भाषालाई अनिवार्य विषय बनाएका थिए भने प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
यसै अवसरमा आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय बाल अधिकार दिवस पनि मनाइँदै छ। बालमैत्री वातावरण निर्माण गर्न र सरोकारवालालाई जिम्मेवार बनाउन हरेक वर्ष यो दिवस मनाइने गरिन्छ।
यस वर्षको दिवसमा हालै भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा अभिभावक गुमाएका, घाइते तथा बेपत्ता भएका बालबालिकाको सुरक्षा र संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ।
प्राकृतिक विपद्बाट प्रभावित त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण, राहत र मनोसामाजिक परामर्श उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए।
यस अवसरमा परिषद् लगायत विभिन्न संघसंस्थाले देशभर बालबालिकाको हकहितसम्बन्धी विविध कार्यक्रम आयोजना गरेका छन्।
भदौ २९, २०८३ सोमबार ०७:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।