सरकारको कार्यशैलीमाथि ओलीको व्यङ्ग्य : ‘यो त छापा मार सरकार भयो’
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैलीलाई लिएर कटाक्ष गर्दै सरकार 'छापा मार' जस्तो देखिएको टिप्पणी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा 'छापा माध्यम बचाउ सुझाव कार्यदल'को ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले भने, "मैले देख्दा त अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ। छापामार एकै शब्दमा होइन है, छापा मार सरकार।"
कार्यक्रममा बोल्दै ओलीले डिजिटल युगमा पनि छापा माध्यमको आफ्नै ऐतिहासिक र विशिष्ट महत्त्व रहेको उल्लेख गरे। अनलाइन वा डिजिटल माध्यममा प्रकाशित सामग्री सहजै मेटाउन सकिने भए पनि छापा माध्यममा छापिएका सामग्री स्थायी दस्तावेजका रूपमा रहने उनको भनाइ थियो।
उनले भने, "यो छापा पत्रकारिता एउटा लाग्न सक्छ मान्छेलाई कि यो अब आउटडेटेड भयो भनेर। योभन्दा पछि नयाँ सजिला विधि-तरिकाहरू, छिटा–छिटो गर्ने विधि-तरिकाहरू निस्किए होलान्। तर, यो चाहिँ यस्तो एउटा दस्तावेज हो, लेख्ने मान्छेले पनि होसियार भएर लेख्न पर्छ। किनभने यो एकछिनपछि ‘डिलिट गर्छु, अलिकति विरोध आयो डिलिट गर्छु’ भनेर डिलिट हुँदैन यो। यो चाहिँ छापामा बस्छ।"
नेपालमा प्रेस स्वतन्त्रताको इतिहास ठूलो बलिदान र संघर्षबाट निर्माण भएको स्मरण गराउँदै ओलीले राणाकालमा एउटा कविता लेखेकै भरमा १८ वर्ष जेल बस्नुपरेको र शास्त्रका कुरा वाचन गर्दा फाँसीसम्म दिइएको प्रसङ्ग उल्लेख गरे।
निरंकुश र प्रतिगामी कदमहरू लामो समय नटिक्ने दाबी गर्दै एमाले अध्यक्ष ओलीले सञ्चार क्षेत्रको हकहित र स्वतन्त्रताको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। एमाले नेता तथा सञ्चारकर्मीहरूले स्वतन्त्रताका लागि जेलनेल र यातना भोगेको उल्लेख गर्दै उनले पत्रकारहरूलाई निर्धक्क भएर सत्यको पक्षमा आवाज उठाउन आग्रह गरे।
भदौ २८, २०८३ आइतबार १६:२२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।