९/११ भन्दा वर्षौँअघि नै भारतमा आक्रमण गर्न चाहन्थे ओसामा बिन लादेन: सीआईए प्रतिवेदन

९/११ भन्दा वर्षौँअघि नै भारतमा आक्रमण गर्न चाहन्थे ओसामा बिन लादेन: सीआईए प्रतिवेदन
डिक्लासिफाइड सीआईए फाइलहरूमा ओसामा बिन लादेनको भारत आतङ्ककारी योजना सार्वजनिक। स्रोत: हिन्दुस्तान टाइम्स

एजेन्सी : आतंकवादी संगठन अलकायदाका संस्थापक तथा नेता ओसामा बिन लादेनले अमेरिकामा ९/११ आतंकवादी हमला हुनुभन्दा वर्षौंअघि नै भारतसहित विभिन्न देशमा आतंकवादी हमला गर्ने योजना बनाएको खुलेको छ।

अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएले सार्वजनिक गरेको सन् १९९८ को एक गोप्य गुप्तचर दस्तावेजले बिन लादेनको अलकायदा नेटवर्कले भारत र पाकिस्तानलाई सम्भावित आतंकवादी हमलाका लागि लक्षित मुलुकका रूपमा पहिचान गरेको देखाएको हो।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचाअनुसार अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका लागि सन् १९९८ मा तयार पारिएको उक्त ‘टप सेक्रेट’ दस्तावेजमा बिन लादेनले भारत र पाकिस्तानसहित विभिन्न देशमा हमला गर्ने योजना बनाएको उल्लेख छ।

१९९८ को सीआईए प्रतिवेदनको खुलासा

सीआईएले ९/११ आतंकवादी हमलाको २५औँ वार्षिकोत्सवका अवसरमा सेप्टेम्बर ११ मा ७१ वटा गुप्तचर प्रतिवेदन सार्वजनिक गरेको थियो। यो ९/११ सम्बन्धी दस्तावेज सार्वजनिक गरिएकोमध्ये अहिलेसम्मकै ठूलो प्रकाशन भएको बताइएको छ।

तीमध्ये अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनका लागि सन् १९९८ अगस्ट २८ मा तयार पारिएको 'बिन लादेन टेररिस्ट नेटवर्क स्टिल अ थ्रेट'" (बिन लादेनको आतङ्ककारी सञ्जाल अझै पनि खतरा) शीर्षकको शीर्ष-गोप्य दस्ताबेजमा बिन लादेनले भारत र पाकिस्तानसहित अन्य विभिन्न मुलुकहरूलाई सम्भावित निशाना बनाएको उल्लेख छ।

उक्त प्रतिवेदनमा बिन लादेनले इजिप्ट, अरेबियन प्रायद्वीप (विशेष गरी कुवेत, साउदी अरेबिया र यमन), भारत, पाकिस्तान, युगान्डा र नाइजेरियामा आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ। सोही दस्ताबेज अनुसार, अमेरिकी अधिकारीहरूले अल्बानियाको तिराना र अजरबैजानको बाकुमा आक्रमणको तयारी गरिरहेका बिन लादेनका सहयोगीहरूलाई पक्राउ गर्न पनि सहयोग गरेका थिए।

सार्वजनिक दस्ताबेजमा भारतविरुद्धको कुनै विशेष वा ठोस आक्रमण योजनाको विस्तृत विवरण त दिइएको छैन, तर यसले अमेरिकाले ९/११ को घटनाभन्दा तीन वर्षभन्दा अघि नै भारत र पाकिस्तानमा बिन लादेनको सञ्जालले आतङ्ककारी हमला गर्न चाहेको विश्लेषण गरिसकेको देखाउँछ।

यो चेतावनी सन् १९९८ अगस्ट ७ मा नैरोबी (केन्या) र दार एस सलाम (तान्जानिया) मा रहेका अमेरिकी दूतावासहरूमा भएको बम विस्फोटको केही हप्तापछि आएको थियो। उक्त बम विस्फोटमा २२४ जनाको मृत्यु भएको थियो। त्यसपछि बिन लादेन र अलकायदा अमेरिकी आतंकवादविरोधी अधिकारीहरूको मुख्य निगरानीमा परेका थिए।

तीन वर्षपछि भारतमा भयो संसद् हमला

अमेरिकी गुप्तचर निकायले भारतलाई सम्भावित लक्ष्यका रूपमा पहिचान गरेको तीन वर्षपछि भारतमा ठूलो आतंकवादी हमला भयो। १३ डिसेम्बर २००१ मा लस्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका आतंकवादीहरूले नयाँ दिल्लीस्थित भारतीय संसद् भवनमा आक्रमण गरेका थिए। उक्त आक्रमणमा सुरक्षाकर्मी र एक मालीसहित ९ जनाको मृत्यु भएको थियो। पाँचै जना हमलाकारी पनि मारिएका थिए।

पाकिस्तान र बिन लादेनको खोजी

सीआईएको प्रतिवेदन अनुसार पाकिस्तान पछि बिन लादेन र अल-कायदा सञ्जालको खोजीमा अमेरिकासँग गहिरो रूपमा जोडिन पुग्यो। अमेरिकी गुप्तचर निकायले बिन लादेनका गतिविधि र तालिबानसँगको उसको सम्बन्धमा लगातार निगरानी राखिरहेको थियो। जुन २००० को अर्को सीआईए मूल्याङ्कनको शीर्षक नै 'पाकिस्तान प्रेसिंग बिन लादेन नेटवर्क' (पाकिस्तानद्वारा बिन लादेन सञ्जालमाथि दबाब) रहेको थियो।

बिन लादेनले आफ्नो जीवनको अन्तिम वर्षहरू पाकिस्तानमै लुकेर बिताएका थिए। सन् २०१० मा उनका एक कुरियरको गतिविधिलाई पछ्याउने क्रममा अमेरिकी गुप्तचर अधिकारीहरू पाकिस्तानको इस्लामाबादनजिकै रहेको एबोटाबादस्थित एक कम्पाउन्डसम्म पुगेका थिए। त्यसपछि सन् २०११ मे २ मा अमेरिकी सेनाले एबोटाबादमा गरेको विशेष कारबाहीमा बिन लादेन मारिएका थिए।

९/११ को चेतावनी र आक्रमण

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, सीआईएले सार्वजनिक गरेका अन्य दस्ताबेजहरूमा जुलाई १९९८ को सम्भावित अमेरिकी आक्रमण सम्बन्धी प्रतिवेदन, डिसेम्बर १९९८ को विमान अपहरण सम्बन्धी चेतावनी, र ६ अगस्ट २००१ को 'बिन लादेन डिटरमाइन्ड टु स्ट्राइक इन युएस' (बिन लादेन अमेरिकामा आक्रमण गर्न दृढ) शीर्षकको प्रतिवेदन समावेश छन्।

११ सेप्टेम्बर २००१ मा अल-कायदाका १९ जना आतङ्ककारीहरूले चार वटा अमेरिकी यात्रुवाहक विमान अपहरण गरेका थिए। अमेरिकन एयरलाइन्सको फ्लाइट ११ न्यूयोर्कस्थित विश्व व्यापार केन्द्र (वर्ल्ड ट्रेड सेन्टर) को उत्तरी टावरमा र युनाइटेड एयरलाइन्सको उडान १७५ दक्षिणी टावरमा ठोक्किएका थिए। दुवै टावर पछि ध्वस्त भएका थिए।

यस्तै, अमेरिकन एयरलाइन्सको उडान ७७ वासिङ्टनस्थित पेन्टागनमा ठोक्किएको थियो भने युनाइटेड एयरलाइन्सको उडान ९३ का यात्रुहरूले अपहरणकारीहरूविरुद्ध प्रतिकार गरेपछि उक्त विमान पेन्सिल्भेनियाको एउटा खेतमा खस्यो। यी आक्रमणहरूमा १९ जना अपहरणकारी बाहेक कुल दुई हजार ९७७ जनाको मृत्यु भएको थियो।

ओसामा बिन लादेनको भूमिका

अल-कायदाका संस्थापक तथा नेता ओसामा बिन लादेनले यस आक्रमणको नेतृत्व र निर्देशन गरेका थिए, यद्यपि उनी आफैँ अपहरणकारीहरूमध्ये थिएनन्। ९/११ को योजना वर्षौँ लगाएर तयार पारिएको थियो। ९/११ आयोगले खालिद शेख मोहम्मदलाई आक्रमणका 'मुख्य योजनाकार' (प्रिन्सिपल आर्किटेक्ट) का रूपमा उल्लेख गरेको थियो। उनले बिन लादेन तथा अलकायदाका अन्य नेताहरूसँग मिलेर ९/११ हमलाको योजना अघि बढाएका थिए।

भदौ २८, २०८३ आइतबार १२:५०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।