जापानमा नेपाली युवतीको हत्याको आरोपमा तीन नेपाली पक्राउ
एजेन्सी : जापानको फुकुओकामा एक नेपाली युवतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएपछि अपार्टमेन्टको बाल्कोनीबाट नदीमा फालेको अभियोगमा तीन जना नेपाली पक्राउ परेका छन्।
जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन्। प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको जानकारी दिएको हो।
गत १९ अगस्टको बिहान फुकुओका सहरको मध्यभागमा पर्ने नाकागावा नदीमा २५ वर्षीया लक्ष्मी राजवंशीको शव तैरिरहेको अवस्थामा फेला परेको थियो। उनको शव बस्ने गरेको अपार्टमेन्टबाट करिब दुई किलोमिटर तल नदीमा भेटिएको हो।
प्रहरी अनुसन्धान अनुसार अगस्ट १८ को राति करिब ११:३० बजेदेखि अगस्ट १९ को मध्यराति १२:१५ बजेको समयभित्र फुकुओकाको चुओ वार्डस्थित कियोकावा क्षेत्रमा रहेको लक्ष्मीको अपार्टमेन्टमा तीन जना अभियुक्तहरू उपस्थित थिए।
सोही क्रममा उनीहरूले लक्ष्मीको टाउकोमा खाना पकाउने भाँडोले पटक-पटक प्रहार गरी गम्भीर घाइते बनाएका थिए र त्यसपछि उनलाई अपार्टमेन्टको बाल्कोनीबाट नदीमा खसालेको आशंका प्रहरीले गरेको छ। पोष्टमार्टम रिपोर्ट अनुसार लक्ष्मीको मृत्युको मुख्य कारण डुबेर भएको देखिएको छ।
प्रहरीले लक्ष्मीको अपार्टमेन्टभित्र रगतका दागहरू र झगडा भएका स्पष्ट संकेतहरू फेला पारेको थियो। साथै, उनको निधारमा गहिरो नीलो डाम र टाउको लगायत शरीरका अन्य भागहरूमा काटिएका चोटहरू भेटिएकाले उनीमाथि पटक-पटक तीव्र हिंसात्मक आक्रमण भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका तीनै जना अभियुक्तहरूले आरोप स्वीकार वा अस्वीकार गरेको विषय भने सार्वजनिक गरेको छैन।
पक्राउ परेकी सञ्जु तामाङ मृतक लक्ष्मीका प्रेमीसँगै बस्दै आएकी थिइन्। यसै नाता र सम्बन्धमा आएको विवाद नै हत्याको मुख्य कारण हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
लक्ष्मी सन् २०२३ को मे महिनातिर अध्ययनका लागि जापान आएकी थिइन्। उनी एक व्यावसायिक कलेजमा पढ्दै रेस्टुरेन्टमा आंशिक काम गर्दै आएकी थिइन्।
भदौ २३, २०८३ मंगलबार १८:१०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।