ह्यारी-मेघनले शाही हैसियत थथावत्, सुरक्षाबारे प्रहरीले निर्णय गर्ने

ह्यारी-मेघनले शाही हैसियत थथावत्, सुरक्षाबारे प्रहरीले निर्णय गर्ने

लण्डन : अमेरिकाबाट बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल बेलायत फर्किए पनि उनीहरूको राजपरिवारसँगको पारिवारिक सम्बन्ध यथावत् रहने स्पष्ट पार्नुभएको छ।

तर, सन् २०२० मा शाही जिम्मेवारी त्यागेकाले उनीहरूले ‘शाही उपाधि’ प्रयोग गर्न नपाउने र कुनै पनि परोपकारी कार्य निजी हैसियतमा मात्र गर्नुपर्ने दरबारको अडान कायमै छ।

राजा चार्ल्सको निर्देशनमा बकिङ्घम दरबारका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले बेलायत सरकार, सेना तथा देशभर रहेका राजाका प्रतिनिधिहरूलाई औपचारिक पत्र पठाउँदै ह्यारी-मेघनको हैसियतबारे कुनै भ्रम नराख्न स्पष्ट पारेका हुन्।

पत्रअनुसार ह्यारी र मेघन बेलायत भ्रमणमा आउँदा उनीहरूलाई शाही परिवारका ‘सक्रिय सदस्य’ सरहको औपचारिक सम्मान वा राज्यकोषबाट विशेष सुविधा दिइने छैन।

यदि कुनै निकायलाई उनीहरूको औपचारिक सम्मान वा सार्वजनिक कोष खर्चका विषयमा अन्योल भए सोझै बकिङ्घम दरबारमा सम्पर्क गर्न निर्देशन दिइएको छ।

ह्यारी र मेघनले बेलायतमा रहँदा राजपरिवारका सक्रिय सदस्यहरूसँग ‘समानान्तर शाही संरचना’ खडा गर्न सक्ने आशंका दरबारका पर्यवेक्षकहरूले गरिरहेका बेला राजाका तर्फबाट यो स्पष्टोक्ति आएको हो।

यस्तै, लामो समयदेखि विवादमा रहेको सुरक्षा व्यवस्थाबारे पनि पत्रमा स्पष्ट पारिएको छ। शाही जिम्मेवारी त्यागेपछि राज्यकोषबाट उपलब्ध गराइने स्वतः २४ घण्टे प्रहरी सुरक्षा कटौती भएपछि ह्यारीले बेलायती सरकारविरुद्ध लामो कानुनी लडाइँ लड्दै आएका छन्।

नयाँ निर्देशनअनुसार ह्यारी-मेघनलाई सुरक्षा दिने वा नदिने भन्ने निर्णय राजपरिवारले नभई सम्बन्धित प्रहरी निकाय र ‘रोयल एन्ड भिआइपी कार्यकारी समिति’ले जोखिमको मूल्यांकनका आधारमा गर्नेछ।

भदौ २३, २०८३ मंगलबार ११:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।