मियामी विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट चिप्लिँदा पाँच जनाको मृत्यु, पाँच जना घाइते
मियामी : अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनको एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
अत्यधिक व्यस्त समयमा भएको यस दुर्घटनाका कारण विमानस्थलबाट हुने ४५० भन्दा बढी उडानहरू रद्द तथा ढिलाइ भएका छन्।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार ३२ वर्ष पुरानो बोइङ कार्गो विमान ९ हजार फिटभन्दा लामो धावनमार्ग ‘३०’ मा अवतरण गर्ने क्रममा रनवे नाघेर बाहिर पुगेको थियो।
धावनमार्गमा विमानका कुनै टुक्रा फेला नपरे पनि धावनमार्ग छाडेर अघि बढ्दा विमानले विमानस्थलको महत्त्वपूर्ण नेभिगेसन उपकरण र आसपासका सवारीसाधनहरूमा क्षति पुर्याएको छ।
दुर्घटनालगत्तै विमानस्थलमा रोकिएका उडानहरू साँझ ५ बजेपछि केही सुचारु गरिए पनि रनवेमा अवरोध रहेका कारण सोमबारसम्म उडानहरू प्रभावित हुने एफएएले जनाएको छ। उडान अनिश्चित बनेपछि धेरै यात्रुहरूले नजिकैको ओर्लान्डो विमानस्थलबाट अर्को उडान तालिका तय गरेका छन्।
अनुसन्धान सुरु, प्राविधिक सुरक्षा प्रणालीमा प्रश्न
सीएनएनकी यातायात विश्लेषक मेरी शियाभोका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूले मुख्यतया चारवटा पक्षमा छानबिन गर्नेछन्- पाइलटको भूमिका, धावनमार्गको अवस्था, मौसम र विमानको यान्त्रिक स्थिति।
अवतरणअघि चालक दलले एयर ट्राफिक कन्ट्रोललाई विमानमा कुनै समस्या रहेको भन्दै आपत्कालीन सन्देश (मेडे कल) नपठाएको पाइएको छ। यद्यपि, केही समस्याहरू विमानले जमिन छोएपछि मात्र थाहा हुने विश्लेषक शियाभोले बताइन्।
यसका साथै, मियामीजस्तो घना मानव बस्ती, भवन र राजमार्गले घेरिएको व्यस्त विमानस्थलको धावनमार्गमा ‘इन्जिनियरिङ मटेरियल एरेस्टिङ सिस्टम’ नहुनु आश्चर्यजनक भएको उनले टिप्पणी गरिन्। विमान धावनमार्गबाट बाहिरिन लाग्दा रोक्नका लागि रनवेको छेउमा यस्तो क्रसिङ सुरक्षा प्रणाली प्रयोग गरिन्छ।
स्थानीयमा त्रास, मेयरद्वारा निरीक्षण
विमानस्थलबाट करिब तीन माइल टाढा बस्ने स्थानीय जोसे सान्चेजले दुर्घटनाको समयमा कुनै ठूलो ट्रक विष्फोट भए झैँ घर हल्लिएको बताएका छन्। अर्का एक स्थानीयले उद्धारका सवारीसाधनहरूको बाक्लो उपस्थिति र विमानको पुच्छर देखिएको दृश्य निकै भयावह रहेको बताए।
मियामी–डेड काउन्टीकी मेयर ड्यानिएला लेभिन काभाले आइतबार साँझ घटनास्थल पुगेर एफएए अधिकारीहरूबाट घटनाबारे जानकारी लिएकी छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै प्रभावितहरूको हेरचाह र समुदायको सुरक्षाका लागि संघीय निकायहरूसँग नजिकबाट समन्वय भइरहेको बताएकी छन्।
अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर विमान दुर्घटनाहरूमध्ये ‘रनवे एक्सकर्सन’ सबैभन्दा धेरै हुने घटनामा पर्दछ।
इ-कमर्स कम्पनी अमेजनको ‘अमेजन एयर’सँग बोइङ ७३७, ७६७ र एयरबस ए-३३० लगायतका १०० भन्दा बढी कार्गो विमान छन्। कम्पनीले सामान, औषधि, माछा तथा ताजा खाद्यान्न ढुवानीका लागि दैनिक २५० भन्दा बढी उडानहरू सञ्चालन गर्दै आएको छ।
भदौ २२, २०८३ सोमबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।