मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
एजेन्सी : मेक्सिकोको मध्य क्षेत्रमा पर्ने मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका पड्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्।
राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति करिब साढे ९ बजे स्थानीय समयअनुसार एउटा चर्चमा उक्त विस्फोट भएको हो। विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका थिए।
घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो। घाइतेहरूलाई उपचारका लागि आसपासका अस्पतालमा लगिएको छ।
घटनापछि उद्धार तथा सुरक्षाका लागि नागरिक सुरक्षा टोली, सशस्त्र सेना र राज्य प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा बाँकी रहेको विस्फोटक सामग्रीको जाँच गरी थप जोखिम हुन नदिन विशेषज्ञमार्फत त्यसलाई सुरक्षित रूपमा निष्क्रिय पार्न आवश्यक सुझाव दिइएको अधिकारीहरूले बताएका छन्।
घटनाको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।
भदौ २२, २०८३ सोमबार ११:४९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।