मैले यसअघि कहिल्यै नभोगेको परिस्थिति नेपालमा सामना गर्दैछु : चर्चित सुरुङविद् अर्नल्ड डिक्स
काठमाडौं : भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ मजदुरको सफल उद्धार गरी विश्वभर चर्चा बटुलेका अन्तर्राष्ट्रिय सुरुङविद् प्राध्यापक अर्नल्ड डिक्सले नेपालमा हाल जारी खोज तथा उद्धार कार्य आफ्नो जीवनकै सबैभन्दा जटिल र अभूतपूर्व रहेको बताएका छन्।
नेपालमा उद्धार कार्यमा सक्रिय रहेका अष्ट्रेलियाली विज्ञ डिक्सले सोमबार बिहान आफ्नो धारणा सार्वजनिक गर्दै सिल्क्याराको तुलनामा नेपालको परिस्थिति निकै फरक र चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्।
‘अहिले नेपालमा हामीले यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ,’ डिक्सले भनेका छन्, ‘यहाँ एउटा मात्र उद्धार कार्य छैन, फरक-फरक स्थानमा एकैसाथ थुप्रै सम्भावित उद्धारहरू गर्नुपर्ने अवस्था छ। जहाँ हरेक स्थानका आफ्नै खतरा, अनिश्चितता र बचाउन सकिने अमूल्य जीवनहरू जोडिएका छन्।’
सिल्क्यारा सुरुङ दुर्घटनाको स्मरण गर्दै उनले थपेका छन्, ‘त्यहाँ जमिनमुनि ४१ जना मजदुर थिए र हाम्रो अगाडि उनीहरूलाई जीवितै बाहिर निकाल्ने एउटै मात्र असम्भव जस्तो लाग्ने कार्यभार थियो, जसमा हामी सफल भयौँ। तर, एउटा ठूलो परीक्षा उत्तीर्ण हुनुको अर्थ परीक्षा सकियो भन्ने होइन रहेछ, सायद हामीलाई अझ ठूलो परीक्षाको जिम्मा दिइएको हो।’
उद्धार कार्यलाई पूर्वीय दर्शन र पश्चिमा कर्तव्यबोधसँग जोड्दै डिक्सले यसलाई ‘धर्म’को सङ्ज्ञा दिएका छन्।
‘पश्चिमा परम्पराले यसलाई कर्तव्य भन्न सक्छ- जहाँ सफलता अनिश्चित हुँदा पनि सही काम गर्नु हाम्रो दायित्व हुन्छ। तर, एसियाली परम्पराले यसलाई धर्म भन्छ। यो परीक्षा सफल भइन्छ कि भइँदैन भन्ने मात्र होइन; बाटो जतिसुकै कठिन भए पनि र जिम्मेवारी थपिँदै जाँदा परिणाम थाहा नभए पनि सही काममा लागिरहनु धर्म हो’, उनले उल्लेख गरेका छन्।
सिल्क्याराले आफूलाई असम्भव जस्तो देखिँदैमा त्यसलाई ‘असम्भव’ मान्न नहुने पाठ सिकाएको स्मरण गर्दै उनले नेपालको अनुभव झन् गहिरो रहेको बताए।
डिक्सका अनुसार, ‘नेपालले मलाई त्योभन्दा ठूलो कुरा सिकाइरहेको छ- जब धेरै जीवनहरू एकैपटक हामीमाथि निर्भर हुन्छन्, तब आशालाई अनुशासनमा र करुणालाई कर्ममा बदल्नुपर्छ, अनि कर्तव्य कहिल्यै पनि सफलताको निश्चिततामा अडिनु हुँदैन।’
पूर्व होस् वा पश्चिम, जीवनरक्षाको सिद्धान्त एउटै हुने बताउँदै डिक्सले निष्कर्षमा भनेका छन्, ‘हाम्रो मूल्याङ्कन हामीले कति जीवन बचायौँ भन्ने आधारमा मात्र हुँदैन, बरु हामीले कति जीवनलाई साथ छोड्न वा त्याग्न अस्वीकार गर्यौँ भन्ने आधारमा हुन्छ।’
भदौ २२, २०८३ सोमबार ०९:५४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।