खाडीमा अमेरिकी आक्रमण : इरानका तीन तेल ट्यांकर ध्वस्त, स्थिति तनावग्रस्त
काठमाडौं : अमेरिकाले खाडी क्षेत्रमा इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ।
इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ ले गस्तीमा रहेका आफ्ना दुई युद्धपोतमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ।
अमेरिकी आक्रमणबाट ओमानको खाडीमा 'एम/टी काइलो' नामको ट्यांकर डुबेको छ भने 'एम/टी डाउनी' लाई खार्ग टापुनजिक र 'एम/टी स्टार्क-१' लाई जास्कनजिक लाई स्थायी रूपमा निष्क्रिय पारिएको छ। सेन्ट्रल कमाण्डले एम/टी काइलो डुबेको भिडियो सार्वजनिक गर्दै आक्रमणअघि चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा जहाज छाड्न निर्देशन दिइएको बताएको छ।
अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र बोकेको विध्वंसक जहाजले ती आक्रमण छल्न सफल भएको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गरिएको छ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले अमेरिकी नौसेनालाई निशाना बनाए त्यसका तेल ट्यांकरहरू नष्ट गरिने चेतावनी दिएका छन्। "यदि इरानले अमेरिकी जहाजमाथि गोली चलायो भने हामी उसका तेल ट्यांकरहरू डुबाइदिन्छौ। त्यसो हुन नदिन उनीहरूले अमेरिकी नौसेनामाथि आक्रमण नगरे पुग्छ,"उनले एक्समा लेखेका छन्।
सेन्ट्रल कमाण्डका कमाण्डर ब्राड कुपरले ती तीन ट्यांकर आइआरजीसी र त्यससँग आबद्ध क्षेत्रीय समूहहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने बहु–अर्ब डलरको ‘छायाँ सञ्जाल’ को हिस्सा रहेको दाबी गरेका छन्।
यता इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) को उल्लंघन, युद्ध अपराध तथा अन्तर्राष्ट्रिय शान्ति, समुद्री व्यापार र सुरक्षामाथिको खतरा भएको जनाएको छ।
मन्त्रालयले यसलाई इरानविरुद्ध जारी अमेरिकी सैन्य आक्रामकता, नौसैनिक नाकाबन्दी र आर्थिक युद्धको निरन्तरता भएको आरोप पनि लगाएको छ। अमेरिका र इरानबीचको यो घटनाले खाडी क्षेत्रमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ।
भदौ २१, २०८३ आइतबार १०:४९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।