ऊर्जा सङ्कटलाई लिएर बङ्गलादेशमा सरकारविरुद्ध ठूलो प्रदर्शन

ऊर्जा सङ्कटलाई लिएर बङ्गलादेशमा सरकारविरुद्ध ठूलो प्रदर्शन

एजेन्सी : खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौं विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्याली निकालेका छन्।

प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ।

विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए। उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन्। पदयात्राका क्रममा विभिन्न स्थानमा थप र्याली आयोजना गरिने जनाइएको छ।

विपक्षी नेता शफिकुर रहमानले आन्दोलन खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत् सेवा सुनिश्चित गर्न केन्द्रित रहेको बताए। “यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पुर्याउन केन्द्रित छ”, समर्थकलाई सम्बोधन गर्दै उनले भने।

मध्यपूर्वमा जारी युद्धलगायतका कारण बङ्गलादेशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढेको बताइएको छ। सङ्कट व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ।

उच्च विद्युत् महसुलप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा एक कलेज विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेको हो। आलोचकहरूले उक्त पक्राउलाई सरकारको आलोचना र असहमतिप्रति बढ्दो असहिष्णुताको सङ्केतका रूपमा व्याख्या गरेका छन्।

विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाए। “तपाईंहरू ग्यास, बिजुली र मल आपूर्ति गर्न असफल हुनुभएको छ र मानिसहरूलाई बोल्नसमेत दिइरहनुभएको छैन”, उनले भने। उनले सरकारलाई आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए।

भदौ २०, २०८३ शनिबार १८:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।