त्रिशूली अस्पतालमा अक्सिजन प्लान्टसहित सीटी स्क्यान मेसिन ठप्प, नियमित आपूर्तिका लागि प्रशासनको आग्रह

त्रिशूली अस्पतालमा अक्सिजन प्लान्टसहित सीटी स्क्यान मेसिन ठप्प, नियमित आपूर्तिका लागि प्रशासनको आग्रह

नुवाकोट : रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले अति प्रभावित नुवाकोटको एक मात्र सरकारी अस्पताल ‘त्रिशूली अस्पताल’मा पर्याप्त विद्युत् नहुँदा सीटी स्क्यान र अक्सिजन प्लान्टलगायतका अत्यावश्यक उपकरणहरू सञ्चालन गर्न समस्या भएको छ।

बाढीका कारण रसुवा र नुवाकोटमा रहेका १२ वटा विद्युत् परियोजना र मुख्य विद्युत् प्रसारण लाइन अवरुद्ध भएपछि अस्पताल प्रशासनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै पर्याप्त भोल्टेजसहितको नियमित विद्युत् आपूर्तिका लागि सम्बन्धित निकायसँग माग गरेको हो।

गत बुधबार आएको बाढीका कारण विद्युत् आपूर्ति बन्द भएपछि अस्पताल बुधबार, बिहीबार र शुक्रबार बिहानसम्म जेनेरेटरकै भरमा सञ्चालन गरिएको थियो। तर, निरन्तर चलाउँदा जेनेरेटरमै प्राविधिक समस्या देखिन थालेको र इन्धनको समेत अभाव भएपछि सेवा प्रवाहमा गम्भीर असर परेको अस्पतालले जनाएको छ।

शुक्रबार दिउँसोदेखि धादिङबाट वैकल्पिक रूपमा विद्युत् जोडिए पनि भोल्टेज निकै कमजोर हुँदा अस्पतालका संवेदनशील उपकरणहरू चल्न सकेका छैनन्। अस्पताल प्रशासनका अनुसार हाल आपूर्ति गरिएको बिजुलीले साना मेसिन मुस्किलले चले पनि अस्पतालका सीटी स्क्यान, अक्सिजन प्लान्ट तथा सघन उपचार कक्षका ठूला उपकरण सञ्चालन हुन सक्ने अवस्था छैन।

विद्युत् समस्याका कारण आकस्मिक र गम्भीर बिरामीको उपचार नै प्रभावित हुने जोखिम बढेपछि अस्पतालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

अस्पतालले आधिकारिक फेसबुक पेजमार्फत विशेष अनुरोध गर्दै भनेको छ, ‘सीटी स्क्यानलगायत अक्सिजन प्लान्ट र ठूला मेसिनहरू सञ्चालन हुने गरी नियमित विद्युत् प्रवाहका लागि विशेष पहल गरिदिन सम्बन्धित पक्षसँग अनुरोध छ। नियमित रूपमा जेनेरेटर चलाउँदा मेसिनमै समस्या देखिने र डिजेलको समेत अभाव हुने भएकाले यथाशीघ्र नियमित विद्युत् प्रवाहको व्यवस्था भएमा सम्पूर्ण दैनिक स्वास्थ्य सेवाहरू सहज हुनेछ।’

भदौ १६, २०८३ मंगलबार ०८:३४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।