बंगालको खाडीमा डुब्यो मालवाहक जहाज : २ जनाको उद्धार, २२ बेपत्ता

बंगालको खाडीमा डुब्यो मालवाहक जहाज : २ जनाको उद्धार, २२ बेपत्ता

एजेन्सी : ओडिशाको पारादीप तटबाट करिब २४० नटिकल माइल (४४४ किलोमिटर) टाढा बंगालको खाडीमा शनिबार पनामाको झण्डावाहक मालवाहक जहाज ‘ओसियन विनर’ डुबेको छ। जहाजमा सवार २४ मध्ये दुई  उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता छन्।

भारतीय तटरक्षक बल (आईसीजी) र भारतीय नौसेनाले बेपत्ताहरूको खोजीका लागि शनिबारदेखि नै संयुक्त उद्धार अभियान जारी राखेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। दुई वटा उद्धार जहाज घटनास्थलतर्फ परिचालन गरिएको छ। हालसम्म ‘लाइफ राफ्ट’मा रहेका दुई जनालाई मात्र सुरक्षित फेला पारिएको छ।

जहाजमा २० चिनियाँ, ३ म्यानमार र १ बंगलादेशी नागरिक गरी २४ जना सवार थिए। सिंगापुरतर्फ जाँदै गरेको उक्त जहाज बिहीबार पारादीप बन्दरगाहबाट प्रस्थान गरेको थियो। समुद्रको बीच भागमा पुगेपछि जहाजको तटरक्षक बलसँग सम्पर्क विच्छेद भएको र त्यसलगत्तै डुबेको अधिकारीहरूले बताएका छन्। जहाज डुब्नुको यकिन कारण भने अझै खुल्न सकेको छैन।

सन् १९९८ मा निर्मित २२५ मिटर लामो र ३२ मिटर चौडाइ भएको यो जहाजको भारवहन क्षमता ७२ हजार ९२८ टन रहेको छ। म्यारिटाइम रेकर्डका अनुसार, पछिल्लो ३६ महिनामा जहाजको ६७ पटक पोर्ट स्टेट कन्ट्रोल जाँच भएको थियो, जसमध्ये सुरक्षा र सञ्चालनसम्बन्धी त्रुटिका कारण तीन पटक जहाजलाई नियन्त्रणमा (डिटेन) समेत लिइएको थियो। 

भदौ ७, २०८३ आइतबार ०८:३५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।