बालबालिकाको गोपनीयता उल्लंघन मुद्दा सल्टाउन टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने

बालबालिकाको गोपनीयता उल्लंघन मुद्दा सल्टाउन टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने

एजेन्सी : छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले बालबालिकाको गोपनीयता (प्राइभेसी) उल्लंघन गरेको आरोपमा चलिरहेको मुद्दा टुङ्ग्याउन अमेरिकी सरकारलाई ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएको छ।

बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दामा भएको यो अहिलेसम्मकै ठूला सम्झौताहरूमध्ये एक हो।

सन् २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन मातहतको न्याय मन्त्रालयले टिकटक र यसको चिनियाँ मातृ कम्पनी बाइटडान्सविरुद्ध मुद्दा दायर गरेको थियो।

टिकटकले १३ वर्षमुनिका लाखौँ बालबालिकाको व्यक्तिगत डेटा उनीहरूका अभिभावकको अनुमतिबिना संकलन गरेको आरोप अमेरिकी सरकारले लगाएको थियो।

यो कदम अमेरिकाको सन् २००० को ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ (कोपा) कानुनविपरीत थियो।

तत्काल ३० करोड डलर तिर्ने
भएको सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल अमेरिकी न्याय मन्त्रालयलाई ३० करोड डलर भुक्तानी गर्नेछन्। बाँकी १० करोड डलर भने सरकारी प्रक्रिया पूरा भएपछि बुझाइनेछ।

अमेरिकी सहायक न्यायाधिवक्ता ब्रेट सुमेटले मुद्दा सुरु हुँदाको समयभन्दा अहिले बालबालिका र उनीहरूका अभिभावकहरू अनलाइनमा बढी सुरक्षित रहेको प्रतिक्रिया दिएका छन्।

बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारलाई जरिवाना तिर्ने टिकटक पहिलो कम्पनी भने होइन।

यसअघि गुगलको युट्युबले सन् २०१९ मा १७ करोड डलर र भिडियो गेम निर्माता 'एपिक गेम्स'ले सन् २०२२ मा २७ करोड ५० लाख डलर जरिवाना तिरिसकेका छन्।

यस्तै, फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी 'मेटा'ले पनि हाल यस्तै प्रकृतिको मुद्दामा अर्बौँ डलर जरिवानाको सामना गरिरहेको छ।

टिकटकको संरचनामा फेरबदल
अमेरिकामा १६ करोडभन्दा बढी प्रयोगकर्ता रहेको टिकटकमाथि पछिल्ला वर्षहरूमा सुरक्षा र गोपनीयतालाई लिएर ठूलो दबाब रहँदै आएको छ।

अमेरिकी दबाबपछि टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई चिनियाँ स्वामित्वबाट अलग गर्ने प्रक्रिया अघि बढाएको थियो।

हाल टिकटकको अमेरिकी सञ्चालनमा ८१ प्रतिशत स्वामित्व विभिन्न लगानीकर्ताहरूको समूहसँग छ भने चीनको बाइटडान्ससँग १९ प्रतिशत शेयर मात्र बाँकी छ।

मुद्दा दायर भएपछि टिकटकले बालबालिका तथा किशोरकिशोरीहरूको सुरक्षा र गोपनीयतासम्बन्धी नियमहरूमा व्यापक सुधार गरेको जनाएको छ।

भदौ ६, २०८३ शनिबार १४:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।