कलुवाको झाडीमा १५ वर्षको मिहिनेतले हुर्किएको कृषि फार्म

कलुवाको झाडीमा १५ वर्षको मिहिनेतले हुर्किएको कृषि फार्म

बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिका-२, कलुवा पुग्ने जोकोहीको आँखा त्यहाँको हरियालीमा गएर अडिन्छ।

फराकिलो क्षेत्रफलमा फैलिएको आँपको विशाल बगैँचा, भुइँमा फक्रिरहेको स्ट्रबेरी, र परिसरमै रमाइरहेका पशुपन्छीको दृश्यले यो ठाउँलाई एउटा कृत्रिम जङ्गल वा व्यवस्थित इको-पार्कजस्तो भान गराउँछ।

कतै हजारौंको सङ्ख्यामा कालिज उडिरहेका देखिन्छन् त कतै खरायो र लौकट चरिरहेका हुन्छन्। भैँसीको गोठ र हाँस पौडिने पोखरीले कृषिको परम्परागत र आधुनिक स्वरूपलाई एउटै थलोमा उभ्याइदिएको छ। यो लोभलाग्दो कृषि साम्राज्यको नाम हो- ‘शाह कृषि फार्म’।

तर, करिब २० बिघा क्षेत्रफलमा फैलिएको यो फार्मको कथा अहिले देखिने हरियाली जति सहज र सुन्दर भने छैन।

उजाड जमिनदेखि हरियालीसम्मको सङ्घर्ष
आजभन्दा करिब १५ वर्षअघि कलुवाको यो भूभाग यस्तो थिएन। यो खेतीपातीका लागि खासै उपयोगमा नआएको, बयरका बझाङ र काँसका गाजले ढाकिएको एउटा उजाड र बन्जर जमिन थियो।

त्यस्तो झाडी र उजाड जमिनमा पसिना बगाउने जोखिम मोल्न जोकोही तयार हुँदैनथे।

तर, नुरुद्दिन शाहले यही बन्जर माटोमा सम्भावनाको बीज देखे। उनले सुरुमा सानो क्षेत्रफलबाट झाडी फाँड्न र माटोलाई खेतीयोग्य बनाउन थाले।

वर्षौंको निरन्तर मिहिनेत, धैर्य र लगनशीलताको परिणामस्वरुप आज त्यो उजाड जमिन रुपन्देहीकै एक नमुना कृषि उत्पादन केन्द्रमा परिणत भएको छ। उनले माटोलाई माया गरे, माटोले उनलाई हरियाली फर्कायो।

आँपमा नवप्रवर्तन: विषादी घटाउने प्रयास
शाह कृषि फार्मको मुख्य आकर्षण यहाँको आँपको बगैँचा हो। फार्ममा करिब ३ हजार ५ सय आँपका बोट छन्। त्यसमध्ये ७ सयभन्दा बढी ‘अल्फान्सो’ जातका छन्।

अल्फान्सो जातको छनोटमा शाहको व्यावसायिक दूरदर्शिता झल्किन्छ। अन्य जातका आँपको सिजन सकिएपछि भदौ महिनामा मात्र यो आँप पाक्ने भएकाले बजारमा यसको माग र मूल्य उच्च रहन्छ। बोटमै पाकेको प्राकृतिक स्वादको आँप किन्न ग्राहकहरू फार्ममै पुग्ने गर्छन्।

आम्दानीको हिसाबले हेर्दा फार्ममा उत्पादन हुने आँपबाट मात्रै वार्षिक करिब ३५ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। तर, शाहका लागि व्यापारभन्दा पनि उत्पादनको गुणस्तर मुख्य कुरा हो।

फललाई कीरा तथा चराचुरुङ्गीबाट जोगाउन उनले विषादीको साटो नवप्रवर्तनात्मक अभ्यास अपनाएका छन्। बोटमा फलेका आँपलाई सानैदेखि प्लास्टिकका थैलाले छोपेर हुर्काइन्छ। यसले फललाई सुरक्षित मात्र राख्दैन, विषादीको प्रयोगलाई नगण्य मात्रामा झारिदिन्छ।

एकीकृत कृषि प्रणाली : एकको मल अर्कोलाई बल
यो फार्मलाई केवल फलफूलको बगैँचामा मात्र सीमित राखिएको छैन। यहाँ कृषि र पशुपालनलाई छुट्टाछुट्टै व्यवसायका रूपमा नभई, एकअर्काका परिपूरकका रूपमा विकास गरिएको छ।

हाल फार्ममा करिब ३ हजार कालिज, १ हजार ५ सय लौकट, २ सय खरायो, ३० वटा हाँस र २५ वटा उन्नत जातका भैँसी पालिएका छन्। फार्मभित्रै रहेका दुईवटा ठूला पोखरीमा माछापालन भइरहेको छ।

यसका साथै, डेढ बिघा क्षेत्रफलमा स्ट्रबेरी खेती गरिएको छ भने तराईको हावापानीमा सुन्तलाको सम्भावना परीक्षण गर्न १५० वटा बोट लगाइएका छन्। यसबाहेक फार्ममा लिची, एभोकाडो, अम्बा, नरिवल र मेवाका बोटहरू पनि हुर्किरहेका छन्।

पशुपन्छीबाट निस्कने मललाई सीधै फलफूल र बालीमा प्रयोग गरिन्छ। बाहिरी रासायनिक मलमाथिको निर्भरता हटाएर अर्गानिक र बहुउद्देश्यीय कृषि केन्द्र बनाउने शाहको लक्ष्यलाई यही एकीकृत चक्रले सम्भव बनाएको छ। यहाँ उत्पादित कृषि उपजको मुख्य बजार बुटवल हो।

कृषि सिक्ने र सिकाउने पाठशाला
शाहको सपना आफूले मात्र उत्पादन गर्ने र बेच्नेमा सीमित छैन। उनी आफ्नो यो १५ वर्षको पसिनालाई भविष्यको पुस्ताका लागि ‘कृषि अनुसन्धान तथा अध्ययन केन्द्र’ का रूपमा विकास गर्न चाहन्छन्।

कृषि तथा भेटेरिनरी विज्ञान पढ्ने विद्यार्थी, नयाँ कृषक र फलफूल खेतीमा रुचि राख्नेहरूका लागि यो फार्म एउटा खुला प्रयोगशाला बनोस् भन्ने उनको चाहना छ।

उनी भन्छन्, ‘कुन जातको फलफूल कुन वातावरणमा सप्रिन्छ, कसरी उत्पादन बढाउन सकिन्छ, र पशुपालन तथा खेतीलाई कसरी एउटै चक्रमा जोड्न सकिन्छ भन्ने विषयमा यही फार्मभित्रै परीक्षण र अनुसन्धान गर्ने मेरो सोच छ।’

राज्यको सम्मान र आगामी यात्रा
बन्जर जमिनलाई हराभरा बनाएर कृषिमार्फत समाजलाई योगदान दिएबापत शाह कृषि फार्मले सरकारी स्तरबाटै उच्च मूल्याङ्कन पाएको छ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रले २०८१ साल साउन ७ गते यस फार्मलाई ‘नेपालकै उत्कृष्ट फार्म’ का रूपमा नगदसहित राष्ट्रिय सम्मान प्रदान गरेको छ।

यस उपलब्धिबाट शाह थप जिम्मेवार महसुस गर्छन्। उनी भन्छन्, ‘वर्षौंदेखि कृषि क्षेत्रमा गर्दै आएको मिहिनेत र नयाँ प्रयोगको मूल्याङ्कन स्वरूप राज्यबाट प्राप्त यो सम्मानले मलाई थप उत्साहित बनाएको छ।’

निरन्तरता नै सफलताको कडी हो भन्ने प्रमाणित गरेका नुरुद्दिन शाह अब कृषिलाई पर्यटनसँग जोड्ने नयाँ यात्रामा छन्। उनी निकट भविष्यमै फार्मभित्रै प्रकृतिमैत्री ‘इको रिसोर्ट’ सञ्चालन गर्ने तयारीमा जुटेका छन्।

भदौ ५, २०८३ शुक्रबार ०७:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।