वर्षाका कारण देशैभरका सडक प्रभावित : कतै पूर्ण बन्द, कतै राति चलाउन रोक
काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडकहरू बढी प्रभावित भएका छन्।
बाढीको जोखिमका कारण खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाइएको छ। दिउँसोको समयमा भने गाडी चल्न दिइएको छ।
कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ भने नुवाकोट जाने टोखा-छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन चलाउन बन्द गरिएको छ। अर्को सूचना नआएसम्म यो नियम लागू हुनेछ।
सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका-२ कोदारीमा (इकु पहिरो) पहिरो खसेको छ भने लिपिङमा सडक भासिएर यातायात पूर्ण रूपमा ठप्प भएको छ।
त्रिशूली नदीले कटान गरेपछि रसुवाको उत्तरगया गाउँपालिकास्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड बन्द भएको छ। यस्तै, गोसाइकुण्ड गाउँपालिका-२ स्याउपार्किङमा पहिरो जाँदा पासाङल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ।
इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा हिलो जमेर बाटो पूर्ण रूपमा बन्द भएको छ। यद्यपि, त्यहाँ साना सवारीका लागि वैकल्पिक बाटोको व्यवस्था छ।
जाजरकोट-डोल्पा सडकखण्ड (भेरी करिडोर) अन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा पहिरो खसेका कारण बाटो पूर्ण रूपमा बन्द छ।
बेँसीसहर-मनाङ सडक अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
प्रहरी प्रधान कार्यालयले सडक अवरुद्ध भएका ठाउँहरूमा अझै बाढी र पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
साथै, आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।
भदौ ५, २०८३ शुक्रबार ०७:२४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।