गाजामा ५ वर्षीया बालिका हिन्दको दर्दनाक हत्या, इजरायली सेनाले पहिलोपटक स्वीकार्यो गल्ती
एजेन्सी : सन् २०२४ मा गाजामा भएको एउटा हृदयविदारक घटनामा ५ वर्षीया बालिका हिन्द रजब चढेको कारमा आक्रमण भएको थियो। उनका ६ जना आफन्त घटनास्थलमै मारिए पनि हिन्द बाँचेकी थिइन्।
आफन्तको शवबीच कारमा लुकेकी हिन्दले घण्टौंसम्म टेलिफोनमार्फत रेड क्रसलाई गुहार मागेकी थिइन्।
इजरायली सेनासँग पूर्वसमन्वय गरेर उनलाई बचाउन पठाइएको एम्बुलेन्समाथि पनि आक्रमण गरियो, जसमा दुई जना स्वास्थ्यकर्मी मारिएका थिए। केही दिनपछि मात्र बालिका र स्वास्थ्यकर्मीको शव फेला परेको थियो।
सुरुमा उक्त क्षेत्रमा आफ्नो सेना नै नरहेको दाबी गर्दै आएको इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले अहिले भने गल्ती स्वीकार गर्दै अनुसन्धान अघि बढाएको छ।
आईडीएफको भनाइ र नयाँ अनुसन्धान
आईडीएफले सूचनाविपरीत गाडी चलेको र एम्बुलेन्सको आवागमन समन्वयमा कमजोरी भएको भन्दै सैन्य प्रहरीमार्फत फौजदारी अनुसन्धान सुरु गरेको जनाएको छ।
सन् २०२५ को मार्चमा रफाह क्षेत्रमा स्वास्थ्यकर्मी र राष्ट्रसंघका कर्मचारीसहित १५ जना प्यालेस्टिनी मारिएको अर्को घटनाको पनि आईडीएफले छानबिन गर्ने भएको छ।
तर, ‘वर्ल्ड सेन्ट्रल किचेन’का ७ जना र डक्टर्स विदाउट बोर्डर्सका ४ जना कर्मचारी मारिएको घटनामा भने आपराधिक अनुसन्धानको आधार नभेटिएको आईडीएफले दाबी गरेको छ।
अनुसन्धानमाथि अविश्वास
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सम्भावित कानुनी कारबाहीबाट बच्न इजरायलले आफैँ अनुसन्धान गरेको देखाउन खोजेको विश्लेषकहरूको भनाइ छ।
ब्रसेल्सस्थित ‘हिन्द रजब फाउन्डेसन’ले इजरायलको आन्तरिक अनुसन्धान त्रुटिपूर्ण हुने भन्दै यसमा रत्तिभर विश्वास नरहेको बताएको छ।
इजरायली मानवअधिकार समूह 'येश दिन'का अनुसार इजरायली सेनामाथि हुने यस्ता उजुरीले विरलै मात्र सजाय पाउँछन् र सजाय पाइहाले पनि त्यो ज्यादै नाममात्रको हुन्छ।
भदौ ४, २०८३ बिहीबार ०७:२८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।