स्ट्रेट अफ होर्मुज ‘अमेरिकाको नयाँ भूभाग’ भएको ट्रम्पको दाबी, इरानले भन्यो - ‘भ्रम सच्याइनेछ’
एजेन्सी : अमेरिका र इरानबीच विगत छ महिनादेखि जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकाको नयाँ भूभाग भएको दाबी गरेपछि इरानले त्यसको प्रतिवाद गर्दै अमेरिकाको यो कदमलाई 'भ्रम' को संज्ञा दिएको छ।
ट्रम्पले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल' मा स्ट्रेट अफ होर्मुजको नक्सा पोस्ट गर्दै "नयाँ अमेरिकी भूभाग" को रूपमा चित्रण गरेका थिए।
ट्रम्पको दाबी: "इरानसँग कुनै वार्ता छैन, होर्मुज नयाँ अमेरिकी भूभाग"
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत स्ट्रेट अफ होर्मुजको एउटा नक्सा पोस्ट गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका थिए।
यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभाग घोषणा गर्ने बताएका थिए।
इरानी नेताहरूले अमेरिकाले वार्तामा आफ्ना प्रमुख मागहरू पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज बन्द नै रहने चेतावनी दिएको केही घण्टामै ट्रम्पले उक्त नक्सा सार्वजनिक गरेका हुन्।
नक्सा पोस्ट गरेलगत्तै ट्रम्पले अर्को पोस्टमार्फत इस्लामिक रिपब्लिक अफ इरानसँग कुनै वार्ता वा कुराकानी नभएको र भविष्यमा पनि कुनै योजना नभएको भन्दै स्पष्ट पारेका छन्। साथै उनले स्ट्रेट अफ होर्मुज अहिले 'खुला र सञ्चालनमा' रहेको र 'सबै समुद्री बारुदी सुरुङहरू हटाइएको वा विस्फोट गराइसकिएको'दाबी गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, "इरानसँग कुनै वार्ता वा कुराकानी भइरहेको छैन र हुने योजना पनि छैन। हाम्रो नौसैनिक नाकाबन्दी पूर्ण रूपमा जारी छ।"
ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जेरेड कुश्नरले दुवै देशबीच "सकारात्मक र सक्रिय कुराकानी" भइरहेको बताएको २४ घण्टा नबित्दै ट्रम्पले त्यसलाई पूर्ण रूपमा खारेज गरिदिएका हुन्।
इरानको प्रतिक्रिया : ‘भ्रम सच्याइनेछ’
ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी भूभाग दाबी गरेपछि इरानले आक्रोश व्यक्त गर्दै अमेरिकालाई चेतावनी दिएको छ। इरानका उप-विदेशमन्त्री काजेम गरिबाबादीले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई 'भ्रममा परेका व्यक्ति' को संज्ञा दिँदै प्रतिक्रिया दिएका छन्।
गरिबाबादीले लेखेका छन्, "जसरी ट्रम्पले 'इटरनल पर्सियन गल्फ' को नाम सही लेखे, त्यसरी नै स्ट्रेट अफ होर्मुजबारे उनको भ्रम छिट्टै सच्चिनेछ वा हामी यो भ्रममा परेका मानिसको भ्रम आफैँ मेटाइदिनेछौँ।"
यसैबीच, इरानका मुख्य वार्ताकार तथा उपसभामुख मोहम्मद बागेर घालिबाफले पनि अमेरिकी अधिकारीहरूमाथि कडा प्रहार गरेका छन्। घालिबाफले अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र सेक्रेटरी अफ वार (रक्षामन्त्री) पिटर हेगसेथ आफ्नो हैसियतभन्दा बाहिर गएर काम गरिरहेको टिप्पणी गरे। उनले आर्थिक वा सैन्य दबाब बढाएर इरानलाई वर्तमान सम्झौताभन्दा बढी सर्त वा छुट मान्न बाध्य पार्न सकिन्छ भन्ने अमेरिकाको सोच कहिल्यै पूरा नहुने स्पष्ट पारे।
युएईद्वारा इरानसँगको व्यापार स्थगित
यसैबीच, क्षेत्रमा बढ्दो सैन्य तनावका बिच संयुक्त अरब इमिरेट्सले इरानसँगका सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेको छ। युएईतर्फ इरानले दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको आरोप लगाउँदै युएईले यो कडा कदम चालेको हो। यद्यपि, इरानले भने युएईतर्फ कुनै मिसाइल नहानेको भन्दै यो दाबीलाई पूर्ण रूपमा खारेज गरेको छ।
भदौ ३, २०८३ बुधबार ११:२७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।