अमेरिकी अदालतमा मेटाविरुद्ध ऐतिहासिक मुद्दा सुरू, पहिलो दिनको बहसमा के भयो?

अमेरिकी अदालतमा मेटाविरुद्ध ऐतिहासिक मुद्दा सुरू, पहिलो दिनको बहसमा के भयो?

एजेन्सी : सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम चलाउने कम्पनी ‘मेटा’विरुद्ध अमेरिकामा अहिलेसम्मकै ठूलो कानुनी लडाइँ सुरु भएको छ।

मेटाले जानीजानी बालबालिकालाई आफ्नो एपको लत लगाएको आरोपमा क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा मंगलबारदेखि सुनुवाइ सुरू भएको हो।

आगामी ६ हप्तासम्म चल्ने यो बहसमा अमेरिकी राज्यका सरकारी वकिलहरू र मेटाका वकिलहरूले आ-आफ्नो दाबी पेश गर्नेछन्।

के छ राज्यहरूको आरोप ?
सन् २०२३ मा क्यालिफोर्निया र न्युयोर्कसहित अमेरिकाका २९ वटा राज्यले मिलेर मेटाविरुद्ध यो मुद्दा दायर गरेका हुन्।

उनीहरूले मेटाले बालबालिकाको गोपनीयता सम्बन्धी कानुन उल्लंघन गरेको, ११-१२ वर्षका लाखौं बालबालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै पनि मेटाले उनीहरूलाई रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन्।

यस्तै मेटाले किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नराम्रो असर गरिरहेको कुरा लुकाएको समेत उनीहरूको आरोप छ।

यी राज्यहरूले मेटासँग अर्बौं डलर जरिवाना माग्नुका साथै एपमा परिवर्तन गर्नुपर्ने माग राखेका छन्।

विशेषगरी फोटोमा आउने ‘लाइक’को सङ्ख्या लुकाउनुपर्ने र अनन्तसम्म पोस्टहरू हेरिरहन मिल्ने ‘इन्फाइनाइट स्क्रोल’ फिचर हटाउनुपर्ने उनीहरूको माग छ।

अदालतमा वकिलहरूको दोहोरी
सुनुवाइको पहिलो दिन राज्यका तर्फबाट बहस गर्दै वकिल मेगन ओ'निलले मेटाकै एउटा आन्तरिक अनुसन्धान रिपोर्ट पेस गरिन्।

उक्त रिपोर्टमा लेखिएको थियो, ‘हरेक ५ मध्ये १ किशोर-किशोरीलाई इन्स्टाग्राम चलाउँदा नराम्रो महसुस हुन्छ।’

यसको जवाफमा मेटाका प्रमुख वकिल पल स्मिटले भने, ‘सुन्दा यो निकै नराम्रो लाग्छ। तर, त्यही रिपोर्टले ४१ प्रतिशतलाई राम्रो महसुस गराएको र अर्को ४१ प्रतिशतलाई कुनै असर नगरेको पनि देखाएको छ नि।’

किशोर-किशोरीले पाएको राम्रो अनुभवलाई भने सरकारी पक्षले बेवास्ता गरेको मेटाले गुनासो गरेको छ।

मेटाको बचाउ : लत भन्ने कुरा नै हुँदैन
मेटाका वकिल स्मिटले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई एप चलाउनबाट रोक्न नसकेको भन्ने आरोपको खण्डन गरे।

उनका अनुसार गोपनीयताको कानुनकै कारण सबै प्रयोगकर्ताको उमेर यकिन गर्न मिल्ने डाटा राख्न कम्पनीलाई रोक लगाइएको छ।

सबैभन्दा रोचक कुरा त के छ भने, मेटाले ‘सामाजिक सञ्जालको लत’ भन्ने कुरा नै नहुने दाबी गरेको छ।

विज्ञानले पनि सामाजिक सञ्जालको लत लाग्छ भनेर प्रमाणित गरिनसकेको र आफ्ना एपहरू लत बस्ने गरी डिजाइन नगरिएको मेटाको जिकिर छ।

नाफा कि सुरक्षा ?
वकिल ओ'निलले अदालतमा मेटाका प्रमुख मार्क जुकरबर्गसम्मका गोप्य इमेल र च्याटहरू पेस गरेकी थिइन्।

मेटाकै एउटा आन्तरिक रिपोर्टमा किशोर-किशोरीहरूलाई एपको लत बसेको र धेरै समय एपमा बिताउँदा उनीहरूको जीवनमा नराम्रो असर परेको उल्लेख छ।

मेटालाई एपको नराम्रो असरबारे भित्रभित्रै सबै थाहा भए पनि बाहिर भने ‘बच्चाहरूको लागि सुरक्षित छ’ भनेर झुटो बोलेको ओ'निलले आरोप लगाइन्।

उनले मेटाको व्यापार गर्ने तरिकाबारे भनिन्, ‘प्रयोगकर्तालाई लत लगाउने, सकेसम्म धेरै समय एपमा झुन्ड्याएर राख्ने, उनीहरूको डाटा लिने र बाहिर बोल्दा सत्य लुकाउने।’

उनले अगाडि थपिन्, ‘मेटाले जहिले पनि नाफाभन्दा प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिएको दाबी गर्छ, तर वास्तविकतामा जब निर्णय गर्ने बेला आउँछ, उसले सधैँ नाफालाई नै रोज्ने गरेको छ।’

भदौ ३, २०८३ बुधबार ०७:२५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।