सुधन र सुनिलको नाम लिँदै वर्षमानले भने : ‘प्रधानमन्त्रीज्यू आफ्ना मन्त्रीलाई कन्ट्रोल गर्नुस्’
काठमाडौं : वालेन्द्र शाह सरकारका केही मन्त्रीहरूका गतिविधि, व्यवहार र निर्देशनात्मक अभिव्यक्तिलाई लिएर संसद् र संसद् बाहिर तीव्र आलोचना भइरहेको छ। विशेष गरी गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका गतिविधि र अभिव्यक्ति विवादित बन्ने गर्छन्।
आयोजनाहरूको निरीक्षणका क्रममा ठेकेदारका खुट्टा भाँच्नेदेखि निर्माण कार्य सम्पन्न हुन थालेका ठेकाहरू हचुवाका भरमा तोड्न मन्त्री लम्सालले दिएका निर्देशन र गुरुङले आफ्ना मतदातालाई भोट फिर्ता लिन भनेर दिएको पछिल्लो अभिव्यक्ति विवादित बने। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि उनीहरूको व्यवहार र कार्यशैलीमाथि प्रश्न उठेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद वर्षमान पुनले विपद्का बेला उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने हेलिकोप्टर मन्त्रीको व्यक्ति गत प्रयोजनमा दुरुपयोग गरिएको भन्दै विरोध गरे। प्रतिनिधिसभाको विशेष समय लिएर बोलेका पुनले प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरे।
उनले अहिले मुलुकका विभिन्न क्षेत्रमा बाढी पहिरोको विपद् व्यवस्थापन, राहत, उद्धार र पुनः स्थापनामा प्रयोग हुनुपर्ने हेलिकप्टर मन्त्रीहरूको जिल्ला भ्रमणमा प्रयोग भइरहेकामा आपत्ति जनाए।
मुलुकका बाढी-पहिरो प्रभावित क्षेत्रमा साधन अभावका कारण उद्धार र राहत कार्य ठप्प भइरहेका बेला मन्त्रीको सामान्य उपचारका हेलिकप्टर प्रयोग गरिनु आपत्ति जनाउँदै उनले भने, "एकातिर विपद् छ, रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्याउनुपर्ने छ। अर्कातिर एक जना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ अनि हेलिकोप्टर पठाइन्छ।"
जाजरकोट, रोल्पा, बागलुङलगायत जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रमा अझै पर्याप्त उद्धार र पुनः स्थापनाको काम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले भने, "रेस्क्युमा काम हुँदैन, पुनः स्थापनाका लागि काम हुँदैन, त्यहाँ पुर्याउनुपर्ने सामग्री पुग्दैनन् र मन्त्रीलाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइन्छ र घरमा आराम गर्दै हुनुहुन्छ।"
राज्य सञ्चालनको यो शैली सुशासन विपरीत भएको उल्लेख गर्दै उनले आफ्ना मन्त्रीहरूको यस्तो स्वेच्छाचारी व्यवहार र सरकारी स्रोतको दोहन नियन्त्रण गर्न प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराए। पुनले भने, "यस्तो गैरजिम्मेवार ढंगले राज्य चल्न सभामुख महोदय ? यसतर्फ म सम्माननीय सभामुखज्यूमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस्।"
सुदूरपश्चिमका पहाडी जिल्ला भ्रमणमा गएका बेला रुघाखोकी र ज्वरो आएपछि मन्त्री लम्साल केही दिनअघि सेनाको स्काई ट्रक बोलाएर काठमाडौं फर्किएका थिए।
पुनले जनप्रतिनिधि जनतामा जानु राम्रो भए पनि विपद्को समयमा काम गर्न छाडेर गृह जिल्ला गोरखा गएका गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई भोट फिर्ता लिन धम्की दिएकामा आपत्ति जनाए। चुनावका बेला गरेका बाचा मतदाताले सम्झाउँदा मन्त्रीले धम्की दिन नमिल्ने बताए।
"गृहमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ। राम्रो कुरा हो, जनप्रतिनिधि निर्वाचन क्षेत्रमा जानु, मतदाताकोमा जानु," उनले भने, "मतदाताले आफ्नो विगतका प्रतिबद्धताको जवाफ खोज्छन्। उहाँले आफ्नो मत फिर्ता लानुस् भनिराख्नुभएको छ। तर, हामीले यहाँ गृहमन्त्रीलाई खोज्दैछौं।"
विपद् प्रतिकार्य, रेस्क्यु के भए, पुनः निर्माण र पुनर्स्थापनाका लागि भए/गरेका काम तथा राहत सामग्री कसरी पुर्याइएको छ भन्नेबारे गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग उनले राखे। पुनले त्यसका लागि गृहमन्त्री गुरुङलाई रुलिङ गर्न सभामुखसँग माग गरे।
विपद्पछिको पुनः निर्माणका लागि भौगर्भिक अध्ययन टोली पठाएर जोखिमयुक्त स्थानका बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्ने स्पष्ट योजना बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद् उद्धार तथा राहतका लागि सुर्खेतलाई केन्द्र बनाएर हेलिकोप्टर र अन्य साधन राखिएको उल्लेख गर्दै पुनले ती साधनको प्रभावकारी उपयोग हुन नसकेको औँल्याए।
भदौ २, २०८३ मंगलबार १६:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।