मेटाविरुद्ध अमेरिकाका ३० राज्यको यो मुद्दा हारेमा सधैँका लागि फेरिन्छ फेसबुक र इन्स्टाग्राम
एजेन्सी : युवा प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको आरोपमा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध अमेरिकाका ३० वटा राज्यले १० खर्ब (१ ट्रिलियन) डलरभन्दा बढीको मागदाबी गर्दै मुद्दा दायर गरेका छन्।
यदि मेटाले यो मुद्दा हारेमा फेसबुक र इन्स्टाग्रामको स्वरूप सधैँका लागि परिवर्तन हुन सक्नेछ, जसले युवाहरूको सोसल मिडिया अनुभवलाई पूर्ण रूपमा बदल्नेछ।
कम उमेरका प्रयोगकर्ताको सुरक्षाका लागि राज्यहरूले मेटासँग लाइक गन्ने प्रणाली र लगातार स्क्रोल गर्ने सुविधा हटाउनुपर्ने, किशोरकिशोरीको खातामा अभिभावकको प्रमाणीकरण अनिवार्य गर्नुपर्ने माग छ।
यसका अलावा अनुहार वा रूप परिवर्तन गर्ने फिल्टर र भिडियोको अटो-प्ले सुविधा हटाउनुपर्ने, एकभन्दा बढी खाता खोल्न रोक लगाउनुपर्ने र इन्स्टाग्राम स्टोरीलगायत केही समयपछि आफैँ हराउने पोस्टहरू बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।
आरोप के छ ?
बालबालिका र किशोरकिशोरीलाई कुलतमा फसाउन मेटाले जानाजान यस्ता फिचरहरू बनाएको राज्यहरूको आरोप छ।
बारम्बार नोटिफिकेसन पठाएर युवाहरूलाई तान्ने र प्रयोगकर्ता बढाएर नाफा कमाउने उद्देश्य मेटाले राखेको उनीहरूको दाबी छ। हाल सेयर बजारमा मेटाको कुल मूल्य करिब १.५ ट्रिलियन डलर छ।
मेटाकै आन्तरिक अनुसन्धानले पनि 'लाइक' र 'फिल्टर'का कारण किशोरकिशोरीमा अरूसँग तुलना गर्ने बानी, एक्लोपन र डिप्रेसन बढाएको देखाएको प्रमाण वकिलहरूले पेस गरेका छन्।
मेटाले भने यी आरोपहरू अस्वीकार गरेको छ।
कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हामी यी आरोपहरूसँग पूर्ण रूपमा असहमत छौँ। हामीले युवाहरूको सुरक्षाका लागि गरेका प्रयास र प्रतिबद्धतालाई अदालतमा पेस हुने प्रमाणले पुष्टि गर्नेछन्।’
यसअघि न्यु मेक्सिकोमा हार
यो ठूलो मुद्दाअघि न्यु मेक्सिकोका एक न्यायाधीशले मेटालाई ‘सार्वजनिक उपद्रव’को संज्ञा दिँदै करिब ९४ करोड २० लाख डलर जरिवाना तिराएका थिए।
साथै, १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताका लागि लाइक हटाउन र निश्चित समयपछि नोटिफिकेसन नपठाउन आदेश दिइएको थियो। मेटाले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको छ।
हाल ३० वटा राज्यले दायर गरेको यो मुद्दा क्यालिफोर्नियाकी न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा सुनुवाइ भइरहेको छ।
यी ३० राज्यले अमेरिकाको करिब दुई तिहाइ जनसंख्याको प्रतिनिधित्व गर्ने भएकाले मेटाले यो मुद्दा हारेमा आफ्ना एपहरूमा अनिवार्य र ठूलो परिवर्तन गर्न बाध्य हुनेछ।
भदौ २, २०८३ मंगलबार ०७:५६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।