इन्डोनेसिया भूकम्प : ५१ जनाको मृत्यु, ५ हजार विस्थापित
एजेन्सी : इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ५१ जनाको ज्यान गएको छ। भूकम्पपछि पहिरो जाँदा प्रमुख सडकहरू अवरुद्ध भएका छन् भने करिब ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारीएको छ।
उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस ओक्टाभियानुसले दिएको जानकारी अनुसार ईस्ट नुसा तेङ्गारा प्रान्तमा गएको सो भूकम्पमा परी ३६ जना गम्भीर घाइते भएका छन् भने ७७ जना सामान्य घाइते भएका छन्। भूकम्पपछि करिब ३४१ वटा पराकम्प मापन गरिएको छ। सन् २०२२ मा वेस्ट जाभामा सयौँ मानिसको ज्यान जाने गरी गएको भूकम्पपछिको यो सबैभन्दा ठूलो र विनाशकारी प्राकृतिक विपत्ति हो।
सिक्का क्षेत्र प्रभावित, पालमुनि रात बिताउन बाध्य
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार सिक्का क्षेत्रका तीन हजार तीन सयभन्दा बढी मानिसहरू आफैँ वा खेलकुद एकेडेमी (स्पोर्ट्स एरेना) मा गई शरण लिएर बसेका छन्। भूकम्पका कारण घरहरू भत्किएपछि केही बासिन्दाहरू त्रिपालको अस्थायी पालमुनि बसिरहेका छन् भने बन्दरगाह सहर माउमेरेको एक अस्पताल बाहिर टेन्टमा बिरामीहरूको उपचार भइरहेको छ।
सिक्का सहरका ६३ वर्षीय अब्दुल मुतासले ज्यान जोगाएर आफूहरु मात्र भागेको बताएका छन्। उनी र उनको परिवारले रूखहरूले घेरिएको स्थानमा त्रिपालमा रात बिताएका थिए।
त्यस्तै, सिक्काका उप-रेजेन्ट साइमन सुबान्दीले नोभ्युज च्यानल कम्पासटिभीसँग कुरा गर्दै भने, "लगभग कुनै पनि बासिन्दा घरभित्र बस्ने हिम्मत गरिरहेका छैनन्। मानिसहरू बरन्डा वा बाहिर टेन्टमा सुतिरहेका छन्।"
उद्धार तथा क्षति विवरण
क्याबिनेट सचिव टेडी इन्द्रा विजयाले विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा तीन हजार पाँच सयभन्दा बढी सैनिक र प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।
खोज तथा उद्धार एजेन्सीका अनुसार उद्धारकर्ताहरू पहिरोले अवरुद्ध बनाएका माउमेरेका केही भागसम्म पुग्न सफल भएका छन्। हराइरहेकाहरूको संख्या अझै खुल्न नसके पनि अधिकांश मानिसहरू भग्नावशेषमुनि च्यापिएको अनुमान गरिएको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीकाका अनुसार एक हजार तीन सयभन्दा बढी घरहरूमा क्षति पुगेको छ।
विद्युत् सेवा अवरुद्ध भएका कारण २० वटा पेट्रोल पम्पहरू सञ्चालनमा आउन सकेका छैनन्। प्रान्तीय सरकारले स्रोत-साधन र बजेट परिचालन गर्न सजिलो होस् भन्नका लागि ईस्ट नुसा तेङ्गारा प्रान्तमा संकटकाल घोषणा गर्ने विषयमा विचार गरिरहेको एजेन्सीले जनाएको छ।
इन्डोनेसियाको भूगर्भ एजेन्सीका अनुसार यस क्षेत्रमा यसअघि सन् १९९२ मा ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो, जसले व्यापक क्षति पुर्याएको थियो।
करिब २९ करोड जनसंख्या भएको इन्डोनेसिया 'प्यासिफिक रिङ अफ फायर' मा अवस्थित छ। यो क्षेत्र टेक्टोनिक प्लेटहरू ठोकिने अत्यधिक सक्रिय क्षेत्र भएकाले यहाँ निरन्तर भूकम्प र ज्वालामुखी विस्फोट भइरहन्छन्।
साउन ३१, २०८३ आइतबार ११:३६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।