अमेरिका-इरान युद्ध विरामको समयसीमा सकिँदै, वार्ता अझै अनिश्चित

अमेरिका-इरान युद्ध विरामको समयसीमा सकिँदै, वार्ता अझै अनिश्चित

एजेन्सी : अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको समझदारीको ६० दिने समयसीमा आगामी सोमबार सकिनै लाग्दा इरानले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहे पनि वार्ता सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताए।

सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले सन्देश आदानप्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने बताए। 

गत जुनमा दुई देशबीच युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै उनले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाए। 

यसैबीच, ‘स्ट्रेट अफ होर्मुज’ हुँदै पानी जहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबीच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको उनले बताए। “हामी अहिले एउटा अस्थायी मार्गको खाका तयार गर्दैछौं, जुन आगामी चरणमा स्थायी मार्गमा परिणत हुनेछ”, उनले भने।

होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य सर्तहरूको पालनामा निर्भर रहेको बताउँदै उनले त्यसका लागि अमेरिका ती सर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे। “हामी चाँडै नै कुनै निष्कर्षमा पुग्न सक्छौं”, अराघचीले भने।

गत जुन १८ मा इरान र अमेरिकाले लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। समझदारीअनुसार अन्तिम सम्झौताका लागि दुई देशबीच ६० दिनभित्र वार्ता हुनुपर्ने थियो। 

उक्त समयसीमा आगामी सोमबार सकिँदै छ। तर, गत महिना दुई देशबीच तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ।

साउन ३०, २०८३ शनिबार १९:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।