इन्डोनेसिया भूकम्प: २० जनाको मृत्यु, उद्धार कार्य जारी
एजेन्सी : पूर्वी इन्डोनेसियाको तटीय क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिका दर्जनौँ पराकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको उद्धार एजेन्सीले जनाएको छ।
बिहानै गएको उक्त भूकम्पपछि दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाका विभिन्न तटीय क्षेत्रमा १ मिटर भन्दा साना सुनामीका छालहरू रेकर्ड भएका थिए। भूकम्प गएको करिब तीन घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो।
मौमेरेमा ठूलो क्षति र उद्धार कार्य जारी
इन्डोनेसियाको पूर्वी फ्लोरेस द्वीपस्थित सिक्का रेजेन्सीको मुख्य शहर मौमेरे आसपासका क्षेत्रबाट उद्धारकर्मीहरूले २० जनाको शव निकालेका छन्।मौमेरे उद्धार एजेन्सीका प्रमुख फथुर रहमानका अनुसार ६ जना घाइते भएका छन् भने अन्य दुई जना भग्नावशेषभित्र फसेका छन्।
भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक रहेको नगेकेओ क्षेत्रमा उद्धार टोली अझै पूर्ण रूपमा पुग्न सकेका छैनन्। भूकम्पका कारण सञ्चार सञ्जाल प्रभावित भएको छ।
उद्धारकर्ताहरूले कारबाट नगेकेओ पुग्ने प्रयास गरे पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। अर्को टोली भने फेरीमार्फत त्यहाँ पुग्ने प्रयास गरिरहेको उद्धार निकायले जनाएको छ।
विपद् व्यवस्थापन एजेन्सीका अनुसार नागेकेओका करिब २ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँका थुप्रै घर, गोदाम र सरकारी भवनहरूमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति ठप्प हुनुका साथै यातायात जाम भएको छ।
घर भत्किँदा निद्रामै गयो ज्यान
पूर्वी नुसा तेङ्गारा प्रान्तका गभर्नर इमानुएल मेल्किआडेस लाका लेनाले पत्रकार सम्मेलनमा कम्तीमा पाँच जनाको सुतिरहेकै अवस्थामा घर भत्किँदा मृत्यु भएको पुष्टि गरेका छन्। विपद् व्यवस्थापन एजेन्सीले भने तथ्याङ्क सङ्कलन भइरहेको र क्षति अझै बढ्न सक्ने जनाएको छ।
इन्डोनेसियन भूगर्भ एजेन्सीका अनुसार पहिलो भूकम्प बिहान ४:५८ बजे १५ किलोमिटरको गहिराइमा गएको थियो।
एक स्थानीय बासिन्दा ५१ वर्षीया नोनाले आफूहरू घरमा परिवारसहित आराम गरिरहेको बेला भूकम्प निकै शक्तिशाली महसुस भएको बताएकी छन्। उनका अनुसार घरभित्र १३ जना थिए र सबै जना ज्यान जोगाउन बाहिर भागेका थिए।
पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा र दक्षिण सुलावेसीका विभिन्न भागमा करिब एक मिनेटसम्म कडा धक्का महसुस गरिएको थियो।
पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डे जिल्लास्थित अस्पतालले बिरामीहरूलाई भवनबाट बाहिर सुरक्षित स्थानमा सार्न थालेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार एन्डे क्षेत्रमा कम्तीमा एक स्थानमा पहिरो समेत गएको छ।
इन्डोनेसिया प्रशान्त महासागरको 'रिङ अफ फायर' मा अवस्थित भएकाले यहाँ बारम्बार शक्तिशाली भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्दछ।
सन् १९९२ मा पनि यही क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो। अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने यो भूकम्पबाट अस्ट्रेलियाली मुख्यभूमि तथा टापुहरूमा कुनै सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ।
साउन ३०, २०८३ शनिबार १२:३९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।