इण्डोनेशियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु
एजेन्सी : इण्डोनेशियामा शनिबार बिहानै गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण पाँच जनाको मृत्यु भएको छ।
इष्ट नुसा तेङ्गारा प्रान्तका गभर्नर इम्यानुएल मेल्किआडेस लाका लेनाका अनुसार भूकम्पका कारण भवन तथा संरचना भत्किँदा उनीहरू निदाइरहेकै अवस्थामा पुरिएका थिए।
इण्डोनेशियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीका अनुसार भूकम्प स्थानीय समय अनुसार बिहान ५ बजेभन्दा केही अघि फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर गएको थियो। भूकम्पको गहिराइ १५ किलोमिटर रहेको थियो। त्यसलगत्तै ६.१ म्याग्निच्युडको एक ठूलो धक्कासहित दर्जनौँ पराकम्पनहरू महसुस गरिएका छन्।
पोर्ट र टापुमा व्यापक क्षति
मउमेरेस्थित बन्दरगाहमा खिचिएको भिडियोमा टर्मिनल भवनका ठूला-ठूला कंक्रीटका टुक्राहरू अन्तर-टापु फेरी पर्खिरहेका यात्रुहरूमाथि खसेको दृश्य देखिएको छ। पानीजहाज चढ्ने भर्याङ भत्किँदा केही यात्रुहरू समुद्रमा खसेका थिए।
भूकम्प लगत्तै सुनामीको चेतावनी जारी गरिएपछि स्थानीय बासिन्दाहरू मोटरसाइकल र अन्य सवारीसाधनमार्फत तीव्र गतिमा डाँडा तथा उच्च भूभागतिर लागेका थिए। चेतावनी जारी भएको करिब तीन घण्टोपछि सुनामीको खतरा टरेको भन्दै सूचना फिर्ता लिइएको छ।
उद्धार कार्य र खोज जारी
नागेकेओ क्षेत्रका करिब २ हजार बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र धेरै भवनहरूमा क्षति पुगेको खबर छ। दुर्गम तथा पहाडी क्षेत्र भएकाले क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने जनाइएको छ। हाल खोज तथा उद्धार टोलीहरू क्षतिग्रस्त भवनहरूमा अड्किएका मानिसहरूको उद्धारमा खटिएका छन्।
देशको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सर्वसाधारणलाई शान्त रहन, तटीय क्षेत्रबाट टाढा रहन र चर्किएका वा संरचनात्मक क्षति पुगेका भवनभित्र नछिर्न आग्रह गरेको छ। एजेन्सीले क्षति र मानवीय क्षतिको द्रुत मूल्याङ्कन भइरहेको र तथ्याङ्क प्रमाणीकरण भएपछि थप विवरण सार्वजनिक गर्ने बताएको छ।
स्थानीय बासिन्दा इष्ट नुसा तेङ्गाराको सिक्कास्थित तालिबुरा गाउँका बासिन्दा आर्नोल्ड वेलियान्तोले बीबीसीलाई प्रतिक्रिया दिँदै आफू सुतिरहेको बेला एक्कासि 'अत्यन्तै बलियो धक्का' महसुस गरेको बताए।
"म झस्किएर ब्युँझिएँ र तुरुन्तै मेरो बच्चाको कोठातिर भागँ," उनले भने, "हामी बाहिर निस्कँदा समुद्र नजिकै बस्ने छिमेकीहरू घर छाडेर पहाडतिर भागिरहेका थिए र सडकहरू मानिसहरूले भरिएका थिए। केही मानिसहरू भने समुद्रको पानी घटेको देखेर सडकमै आतङ्कित भएर उभिएका थिए।"
वेलियान्तोका अनुसार पानी धेरै समयसम्म घटेकै अवस्थामा रहेकाले मानिसहरू झन् आतङ्कित बनेका थिए। उनले नजिकैको सामुदायिक स्वास्थ्य केन्द्रका मानिसहरूलाई पनि पहिले नै सुरक्षित स्थानमा सारिएको बताए। लगातार गइरहेका पराकम्पनका कारण घर भत्किने डरले अझै पनि धेरै मानिसहरू घरभित्र फर्कन डराएर बाहिरै बसिरहेका छन्।
साउन ३०, २०८३ शनिबार १०:३५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।