स्वास्थ्य बीमामा नयाँ दर्तादेखि अद्यावधिकसम्म अब अनलाइनबाटै

स्वास्थ्य बीमामा नयाँ दर्तादेखि अद्यावधिकसम्म अब अनलाइनबाटै

काठमाडौं : स्वास्थ्य बीमाका लागि नयाँ आबद्धता हुने, बीमालेख नवीकरण गर्ने र व्यक्तिगत विवरण अद्यावधिक गर्ने लगायतका कार्यहरू अब अनलाइनमार्फत नै गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले त्यसको लागि साउन २९ गतेदेखि अनलाइन पोर्टल (www.eportal.hib.gov.np) सञ्चालनमा ल्याएको हो।

बोर्डका अनुसार यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको छ। राष्ट्रिय परिचयपत्र नभएकाहरूले भने म्यानुअल रूपमा आफ्नो डिजिटल विवरण पेस गर्न सक्नेछन्। यस्तै, बीमा शुल्क भुक्तानीका लागि ई-सेवा, खल्ती र कनेक्ट आईपीएसजस्ता डिजिटल वालेटहरूको प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

व्यक्तिगत आवेदनका साथै कार्यालय वा संगठित क्षेत्रका लागि ‘बल्क इनरोलमेन्ट’ र ‘बल्क रिन्युवल’को सुविधा पनि पोर्टलमा उपलब्ध छ। जिल्ला तथा प्रदेश स्तरबाट आवेदनको प्रमाणीकरण र स्वीकृति भएपछि सेवाग्राहीले डिजिटल स्वास्थ्य बीमा कार्ड प्राप्त गर्नेछन्।

साउन २९, २०८३ शुक्रबार २२:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।