जापानमा अहिलेसम्मकै भीषण वर्षाका कारण चार जनाको मृत्यु : हजारौँ यात्रु विमानस्थलमै अलपत्र र २३ हजार घरमा बिजुली ठप्प

जापानमा अहिलेसम्मकै भीषण वर्षाका कारण चार जनाको मृत्यु : हजारौँ यात्रु विमानस्थलमै अलपत्र र २३ हजार घरमा बिजुली ठप्प

टोकियो : जापानको राजधानी टोकियो नजिकै रहेको चिबा जिल्लामा परेको अहिलेसम्मकै भीषण वर्षाका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ।

बाढी र डुबानका कारण टोकियोको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ यात्रु रातभर अलपत्र परेका छन् भने २३ हजारभन्दा बढी घरमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार बिहीबार दिउँसोदेखि चिबा क्षेत्रमा प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढी पानी परेको थियो।

यो सामान्यतया अगस्ट महिनामा हुने औसत वर्षाभन्दा तीन गुणा बढी र जापानको मौसम इतिहासमै हालसम्मको सबैभन्दा ठूलो वर्षा भएको बताइएको छ।

बाढीका कारण जलमग्न सडकमा डुबेर तथा डुबेको कारभित्रै फसेर चार जनाको मृत्यु भएको स्थानीय विपद् व्यवस्थापन कार्यालयले पुष्टि गरेको छ।

विमानस्थलमा ७ हजार यात्रु अलपत्र, २३ हजार घर अन्धकारमा
अविरल वर्षाका कारण विमानस्थल जोड्ने रेल, बस तथा सडक यातायात विच्छेद हुँदा टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ हजार यात्रु रातभर अलपत्र परेका छन्।

यात्रुहरू टर्मिनलको भुइँमै सुतेर रात बिताउन बाध्य भएका थिए। यस्तै, विभिन्न स्टेसन तथा सपिङ मलहरूमा हजारौँ यात्रु रोकिएका छन् भने कयौँ प्रमुख राजमार्गहरू बन्द गरिएका छन्।

टोकियो इलेक्ट्रिक पावरका अनुसार चिबा, इबाराकी र तोचिगी प्रिफेक्चरका २३ हजारभन्दा बढी घरमा बिजुली बन्द भएको छ।

बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थान र सरकारी भवनहरूमा सारिएको छ। अलपत्र परेकाहरूको उद्धारका लागि जापानी सेना परिचालन गरिएको छ।

‘मौसम इतिहासकै भयानक विपद्’
चिबाका गभर्नर तोशिहितो कुमागाइले यस विपद्लाई जापानको मौसम इतिहासकै अत्यन्तै असामान्य र भयानक घटनाको संज्ञा दिएका छन्।

मृतकहरूप्रति समवेदना प्रकट गर्दै उनले सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवन रक्षा र उद्धारमा केन्द्रित रहेको बताएका छन्।

मौसम विज्ञान एजेन्सीले सुरुमा जारी गरेको सर्वोच्च स्तरको ‘लेभल ५’ आपत्कालीन चेतावनीलाई घटाएर ‘लेभल ४’ मा झारेको भए पनि बाढी, पहिरो र नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

साउन २९, २०८३ शुक्रबार १०:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।