कोलम्बिया भूकम्प : ४८ घण्टापछि भग्नावशेषबाट ८ जनाको जीवितै उद्धार, मृतकको संख्या २६५ पुग्यो
एजेन्सी : कोलम्बियामा दुई दिनअघि गएको शक्तिशाली भूकम्पपछि जारी खोज तथा उद्धारका क्रममा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ। पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पका कारण काली सहरस्थित ‘टोरेस डेल लिमोनार’ नामक आवासीय भवन पूर्णरूपमा भत्किएको थियो। भवन भत्किँदा दर्जनौं मानिस भग्नावशेषमा पुरिएका थिए। उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन्।
भूकम्पपछिको अति संवेदनशील मानिने पहिलो ४८ घण्टाको अवधिमा उद्धार टोलीले जीवित व्यक्तिको खोजीमा ध्यान केन्द्रित गरेको थियो। यस अवधिमा आठ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ। तर, समय बित्दै जाँदा जीवित भेटिने सम्भावना कम हुँदै गएपछि उद्धार टोलीले अहिले मृतकको शव खोजी तथा व्यवस्थापनमा बढी ध्यान दिन थालेको छ।
कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले बुधबार दिएको जानकारीअनुसार भूकम्पबाट ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ। साथै, ३ हजार ४९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता रहेका छन्। राष्ट्रपतिका अनुसार देशभर ११ हजारभन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएका छन्। यस प्राकृतिक विपत्तिबाट ५३ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
सरकारले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना कार्यलाई तीव्रता दिएको जनाएको छ। उद्धार टोली, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू अझै पनि बेपत्ताहरूको खोजीमा खटिएका छन्।
भूकम्पबाट सबैभन्दा बढी क्षति कालीसहित पश्चिमी कोलम्बियाका सहरहरूमा भएको बताइएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थल स्थापना गर्नुका साथै खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्न प्रयास जारी राखेका छन्। भूकम्पपछि परकम्पनहरू पनि आइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
साउन २८, २०८३ बिहीबार १६:१३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।