विवादित टापुमा पुटिनको भ्रमणपछि जापान आक्रोशित, 'पूर्ण रूपमा अस्वीकार्य' भएको टिप्पणी
एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानसँग विवादमा रहेको कुरिल टापु समूहमध्ये एक 'इटुरुप' को भ्रमणप्रति आपत्ति जनाउँदै जापानकी प्रधानमन्त्री सनेई तकाइचीले उक्त भ्रमणलाई 'पूर्ण रूपमा अस्वीकार्य' भएको बताएकी छन्।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले इटुरुप (जापानमा 'एतोरोफु' भनिने) टापुको भ्रमण गरेका हुन्। यो भ्रमणपछि जापानी प्रधानमन्त्री तकाइचीले पत्रकारहरूसँग कुरा गर्दै पुटिनको कदमले 'जापानमा रुसप्रतिको जनभावना थप नकारात्मक बनाएको' बताइन्। उनले ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुनका आधारमा यो टापु समूह जापानको 'विशिष्ट भूभाग' रहेको अडान दोहोर्याएकी छन्।
जापानी विदेशमन्त्रीको आपत्ति र पुटिनको गतिविधि
यसअघि बिहीबार नै जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले यी टापुहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुन दुवै हिसाबले 'जापानको सार्वभौम भूभाग' भएको उल्लेख गर्दै जापानी सरकारले यस भ्रमणको कडा विरोध गर्ने बताएका थिए।
भ्रमणका क्रममा राष्ट्रपति पुतिनले इत्तुरुपस्थित 'यास्नी' माछा प्रशोधन कारखानाको अवलोकन गर्नुका साथै क्याभियर (माछाको अण्डा) चाखेका थिए र स्थानीय बासिन्दासँग कुराकानी गरेका थिए।
दशकौँ पुरानो विवाद र शान्ति सन्धिको अड्चन
कुरिल द्वीपसमूहलाई लिएर जापान र रुसबीच दशकौँदेखि क्षेत्रीय विवाद चल्दै आएको छ। जापानको उत्तरी टापु होक्काइदो र रूसको कमचाटका प्रायद्वीपको बीचमा कुरािल टापु शृङ्खला अवस्थित छ। यस टापु शृङ्खलाका चारवटा दक्षिणतर्फका टापुहरूमा जापानले आफ्नो दाबी गर्दै आएको छ, जसलाई जापानमा 'उत्तरी क्षेत्र' (नर्दर्न टेरिटोरिज) भनिन्छ।
तर यी चारवटै यी टापुहरू हाल रूसको प्रशासनिक नियन्त्रणमा छन्। दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत संघले यस टापु शृङ्खलालाई आफ्नो कब्जामा लिएको थियो र त्यहाँका करिब १७ हजार जापानी बासिन्दाहरूलाई विस्थापित गरेको थियो। यही क्षेत्रीय विवादका कारण दोस्रो विश्वयुद्ध सकिएको दशकौँ बितिसक्दा पनि मस्को र टोकियोबीच औपचारिक शान्ति सन्धि हुन सकेको छैन।
वर्षौँदेखि यो क्षेत्रिय विवाद समाधान गर्ने प्रयासहरू असफल हुँदै आएका छन्। सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि जापानले रुसमाथि कडा प्रतिबन्धहरू लगाएका कारण दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप चिसिएको छ।
सामरिक महत्त्व र सैन्य तनाव
जापानले रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन र पूर्वराष्ट्रपति/प्रधानमन्त्री दिमित्री मेदभेदेव जस्ता उच्च रुसी अधिकारीहरूको विगतका भ्रमणहरूको पनि निरन्तर विरोध गर्दै आएको थियो।
रुसका लागि कुरिल टापु रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छन्। पछिल्लो एक दशकमा रूसले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ। जहाँ इटुरुपटापुलाई रुसले यस क्षेत्रको मुख्य सैन्य हवाई अड्डाका रूपमा प्रयोग गर्दै आएको छ।
गत महिना मात्र चिन र रुसका नौसेनाका युद्धपोतहरूले संयुक्त गस्तीका क्रममा कुरिल टापुको जलडमरूमध्य भएर यात्रा गरेका थिए। यसका साथै, रूसले यस टापु नजिकै नियमित रूपमा सैन्य अभ्यास गर्दै आएको छ। जापानले यसको निरन्तर कडा प्रतिवाद र भर्त्सना गर्दै आएको छ।
साउन २८, २०८३ बिहीबार १४:२९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।